यी हुन् माओवादीको केन्द्रीय कमिटीमा थपिएका २२ महिला सदस्य
सत्तारूढ माओवादी केन्द्रको केन्द्रीय कमिटी ४ सय ७ सदस्यीय पुगेको छ।
माओवादी केन्द्रले पछिल्लोपटक २२ जना थप गरेर केन्द्रीय कमिटीको आकार ४०७ पुर्याएको हो।
थपिएका सदस्यहरू जारी केन्द्रीय कमिटीको बैठकमा सहभागी भएका छन्।
माओवादी केन्द्रले आङदावा शेर्पा, इन्दिरा अधिकारी, उमा कपाली, उर्मिला विक, गंगा खड्का, गिताकुमारी कँडेल चौलागाईं, गिता शाही, छमकुमारी खनाललाई केन्द्रीय सदस्य थप गरेको हो।
यस्तै, दिलमाया बूढामगर, नीरमाया श्रीस, नीशा न्यौपाने, पार्वती थापा, भगवती तिवारी, मोतिकला चलाउने, लालकुमारी पुन, लिला शर्मा, सपना परियार पनि केन्द्रीय कमिटीमा थपिएका छन्। सीता दाहाल, सुशिला घिमिरे, सुशीला पौडल, सूर्यकुमारी विक, शरू चौधरी पनि थपिएका केन्द्रीय सदस्य हुन्।
२०७८ पुसमा सम्पन्न नवौं महाधिवेशनले केन्द्रीय कमिटीमा महिलाको संख्या ३५ प्रतिशत पुर्याउने निर्णय गरे पनि हालसम्म कार्यान्वयन भएको थिएन।
बुधबारदेखि सुरू भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डले पेस गर्ने सांगठनिक प्रतिवेदनमा ३५ प्रतिशत महिला पुर्याउन २२ जना थप्ने प्रस्ताव गरिएको थियो।
निर्वाचन आयोगमा दलका सदस्यहरूको विवरण बुझाइहाल्नुपर्ने भएकाले माओवादीलाई तत्काल केन्द्रीय कमिटीमा ३५ प्रतिशत महिला पुर्याउनुपर्ने बाध्यता छ।
त्यसका लागि २२ जना महिला थप्ने प्रस्ताव अध्यक्ष प्रचण्डले सांगठनिक प्रतिवेदनमा प्रस्ताव गरेका हुन्।
उनको प्रस्तावलाई केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेपछि केन्द्रीय कमिटीमा २२ महिला नेता थपिएका हुन्। त्यसअघि केन्द्रीय कमिटी ३८७ सदस्यीय थियो।
१७ गतदेखि चलेको केन्द्रीय कमिटीमा सदस्यहरूले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको प्रतिवेदनमा धारणा राखिरहेका छन्।
बिहीबारसम्म ७४ जना केन्द्रीय सदस्यले आफ्ना धारणा राखेका थिए।
बैठक आइतबारसम्म चल्ने छ।