आयातित दुई तिहाइ वस्तुको खपत औद्योगिक गतिविधिमा
नेपालमा आयात हुने झण्डै दुई तिहाइ वस्तु औद्योगिक क्रियाकलापमा खपत हुने गरेको पाइएको छ । गत आर्थिक वर्ष (आव) २०७९/८० मा नेपालले १६ खर्ब ११ अर्ब ७३ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । जसलाई वृहत आर्थिक वर्गीकरण अनुसार विश्लेषण गर्दा दुई तिहाइ वस्तु औद्योगिक कच्चा पदार्थ र पूँजी निर्माणमा प्रयोग हुने वस्तुका रुपमा आयात भएको छ ।
व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्र (टीईपीसी)को विश्लेषण अनुसार आव २०७९/८० मा भएको कुल आयातमा ‘इन्टरमिडियट कन्जम्सन’को योगदान ५२.९ प्रतिशत देखिन्छ । ‘ग्रस फिक्स्ड क्यापिटल फर्मेसन’को योगदान ८.९ प्रतिशत देखिन्छ । यी दुवै वर्गीकरणमा पर्ने वस्तु औद्योगिक गतिविधिमा उपयोग हुने केन्द्रले जनाएको छ ।
टीईपीसी भन्छ, ‘नेपालको कुल आयातमा इन्टरमिडियट कन्जम्सन र ग्रस फिक्स्ड क्यापिटल फर्मेसनको योगदानको योगफल ६१.७ प्रतिशत रहेको आंकडाले नेपालको अधिकांश आयात औद्योगिक क्रियाकलापमा उपयोग भइरहेको देखिन्छ, नेपालको आयात यस अर्थमा सकारात्मक नै देखिन्छ ।’
आंकडाअनुसार आयातित वस्तुमध्ये ३८.३ प्रतिशत भने तयारी वस्तु (फाइनल कन्जम्सन) हुन् । अर्थतन्त्रमा आयातित वस्तु जति धेरै कच्चा पदार्थका रुपमा आउँछन्, त्यसले आर्थिक क्रियाकलाप वृद्धि गर्ने र आन्तरिक उत्पादन वृद्धिमा पनि सहयोग पुर्याउने विज्ञहरुको विश्लेषण छ । यस्ता वस्तुको आयातले आन्तरिक रुपमा राजस्व वृद्धिमा समेत सहयोग गर्छ ।