भन्सारले चाहे महराका दुई छोरामाथि हुनसक्छ अनुसन्धान
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भन्सार कार्यालयले चाहे गत माघमा हराएको ९ किलो सुन प्रकरणमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका दुई छोरामाथि अनुसन्धान हुने देखिएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले २७ असारमा ९ जनाविरुद्ध आपराधिक विश्वासघात र संगठित अपराध सम्बन्धी कसूरमा मुद्दा दायर गरेको थियो ।
यसमा भन्सार छलीको कसुर पनि आकर्षित हुने भएकाले भन्सार कार्यालयले फेरि अनुसन्धान गरेर सुन ल्याउने समूह वा त्यसका सहयोगीलाई कानुनी दायरामा ल्याउन सक्ने सरकारी वकिलको कार्यालयले बताएको छ ।
प्रहरीले बुझाएको प्रतिवेदनका आधारमा संगठित अपराध र आपराधिक विश्वासघातमा मात्रै मुद्दा चलेकाले अझै भन्सार छलीको कसुरमा अनुसन्धान गर्न सकिने जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंका प्रमुख सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने बताउँछन् ।
फेरि अनुसन्धान हुँदा महराका छोरा राहुल र निर्मल महरा पनि छानबिनको दायरामा आउनसक्छन् । विमानस्थल भन्सारका प्रमुख टोकराज पाण्डेले भने भर्खर हाजिर भएकाले यसबारे बुझ्न नपाएको बताएका छन् ।
त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा नियमित जाँचका क्रममा २९ माघ २०७९ मा दुई वटा सुटकेसभित्र ७३ बट्टामा रहेको ७३० थान ई–सिगरेट (भेप) बरामद भएको थियो ।
जाँच गर्दा त्यसमा सुन भएको थाहा पाएपछि भन्सारका नायब सुब्बाको मिलेमतोमा गोदाममा भएको भेप साटफेर गरेर ९ किलो सुन बिक्री गरेको खुलेको थियो । भेप साटफेर भएको थाहा पाएपछि खोजबिन गर्दा बरामद भएको भेपमा करिव ९ किलो सुन भेटिएको र त्यसलाई बिक्री गरेको खुलेको हो ।
यसबारे अनुसन्धान गरेको सीआईबीले बुझाएको रायसहितको प्रतिवेदनका आधारमा सुन बिक्री गर्ने र सुन किन्ने समूहविरुद्ध संगठित अपराध र आपराधिक विश्वासघात शीर्षकमा मुद्दा चल्यो । तर सीआईबीको ९० दिन लामो अनुसन्धान सुन तस्करी गर्ने मुख्य समूहसम्म पुगेको थिएन ।
सीआईबीकी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्य सुनसहितको भेप (विद्युतीय चुरोट) आएको तीन महिनापछि अनुसन्धानको जिम्मा आउँदा सुन ल्याउने गिरोहसम्म पुग्न नसकिएको बताउँछिन् । ‘हामीकहाँ अनुसन्धानका लागि भन्सार कार्यालयले पठाउनुभन्दा धेरै अघि चिनियाँ नागरिकले नेपाल छाडिसकेका थिए’, उनले भनिन् ।