कोशी प्रदेश : प्राकृतिक प्रकोपबाट गत आर्थिक वर्ष साढे ६ अर्ब बढीको क्षति, ५७ को मृत्यु
कोशी प्रदेशमा गत आर्थिक वर्षमा मात्रै प्राकृतिक प्रकोप बाढी पहिरो, चट्याङ, आगलागी, जंगली जनावरको आक्रमणबाट ५७ जना मानिसको मृत्यु भएको छ । त्यस्तै, ३ हजार ७११ घर परिवार प्रभावित भएका छन् ।
कोशी प्रदेश प्रहरी कार्यालयले दिएको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा अनुमानित ६ अर्ब ६६ करोड ६० लाख ६१ हजार ४७४ रुपैयाँ बराबरको भौतिक संरचनामा क्षति पुगेको छ ।
अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा क्षति २ अर्ब ६२ करोड १८ लाख ६२ हजार २६६ रुपैयाँ बराबरको भएको अनुमान गरिएको थियो । सो वर्ष ३४ जना मानिसको मृत्यु भएको थियो भने ३४ हजार ४७२ घर परिवार प्रभावित बनेका थिए ।
तथ्याङ्क अनुसार बाढी र पहिरोको कारण सबैभन्दा धेरै ५ अर्ब ३४ करोड ७१ लाख २५ हजार ४ सय रुपैयाँ क्षति भएको अनुमान गरिएको छ । बाढी पहिरोमा पनि गत आर्थिक वर्षमा २३ जना मानिसको मृत्यु भएको प्रहरीले जनाएको छ । बाढी पहिरोका कारण ३ हजार ३८ घर परिवार प्रभावित भनेका छन् भने ३६० स्थानमा बाढी र पहिरो गएको छ ।
यस्तै, चट्याङका कारण ९ जना मानिसको ज्यान गएको छ । ७३ स्थानमा गएको चट्याङले१९ घर परिवार प्रभावित हुनुको साथै ९८ लाख ७४ हजार बराबरको सम्पत्ति क्षति गरेको अनुमान छ ।
यस्तै, आगलागीका कारण पनि कोशी प्रदेशमा १ अर्ब १३ करोड ८१ लाख ८८ हजार ७७४ रुपैयाँ बराबरको क्षति भएको छ । आगलागीमा परी एक वर्षमा १५ जना मानिसको मृत्यु भएको छ । सोही अवधिमा ५१६ घर परिवार प्रभावित भएका छन् भने १ हजार १५४ स्थानमा आगलागीका घटना भएका छन् ।
यस्तै जंगली जनावरको कारण पनि ९१ लाख ३ हजार ३ सय रुपैयाँ बराबरको क्षति हुँदा १० जना मानिसको मृत्यु भएको छ । यसरी मर्नेहरूमा धेरै हात्तीको आक्रमणमा परेका हुन् ।
प्रहरीले दिएको जानकारी अनुसार गत वर्ष हावाहुरीका कारण पनि अधिक क्षति भएको छ । हावाहुरीले १६ करोड १७ लाख ७० हजार रुपैयाँ बराबरका धनमाल नष्ट गरेको प्रहरीको तथ्याङ्कले देखाएको छ ।