‘इण्डिया’ले मोदीको विकल्प खोज्न सक्ला ?
‘नाममा के छ र ?’ यो प्रश्न अब कमजोर भइसकेको छ। डिजिटल प्रविधिको जमाना र ब्रान्ड/रिब्रान्डको यो समयमा नाममा सबै कुरा छ भन्न मिल्ने भइसकेको छ। गत साता मात्र आसामका मुख्यमन्त्रीले आफ्नो ट्विटर बायोबाट इण्डिया हटाएर भारत राखे। उनी भारतीय जनता पार्टी (भाजपा) बाट मुख्यमन्त्री निर्वाचित नेता हुन्।
भारतमा विपक्षी पार्टीहरूले २०२४ को आम निर्वाचनमा गठबन्धन बनाएर चुनाव लड्ने निर्णय गरे र उक्त गठबन्धनको नाम छोटकरीमा इण्डिया राखे। लगत्तै मुख्यमन्त्रीले बायोबाट इण्डिया हटाएका हुन्। विपक्षी गठबन्धन इण्डियाको पूरा रूप इन्डियन नेसनलिस्ट डेभलपमेन्ट इन्क्लुसिभ अलाइन्स हो।
भारतमा यस्ता गठबन्धन अभ्यास नयाँ भने होइन। यसअगाडि पनि भाजपाको नेतृत्वमा ३८ दल आबद्ध नेशनल डेमोक्रेटिक अलाइन्स (एनडीए) गठबन्धन छ भने भारतीय राष्ट्रिय कांग्रेस नेतृत्वमा युनाइटेड प्रोग्रेसिभ अलाइन्स (यूपीए) गठबन्धन थियो। यी दुवै गठबन्धनमा नरहेका अन्य दलहरूले विभिन्न राज्यमा शक्तिशाली प्रदर्शन गरिरहेकै थिए।
भारतको तेस्रो ठूलो राज्य (लोकसभाको सिट अनुसार) पश्चिम बङ्गालमा सत्ता चलाइरहेको तृणमूल भारतीय राष्ट्रिय कंग्रेस तथा दिल्ली र पंजाबमा सत्ता चलाइरहेको तथा अन्य राज्यमा समेत आक्रामक तरिकाले विस्तार भइरहेको आम आदमी पार्टी जस्ता दलहरू समेत आबद्ध भएर गठबन्धन बनेपछि यसको चर्चाको घनत्व थप बढेको हो।
इन्दिरा गान्धीकै झल्को दिने गरी भारतीय राजनीतिमा नरेन्द्र मोदी स्थापित भएपछि भाजपाको बलियो संगठन र उनले निर्माण गरेको करिश्मा सहितको छविलाई परास्त गर्न विपक्षी दललाई हम्मे–हम्मे परेको छ। यद्यपि विभिन्न सूचकले मोदी नेतृत्वको आगमनपछि भारतीय लोकतन्त्र कमजोर बन्दै गएको देखाएको छ। भाजपाको एकलौटी दबदबा र त्यसले भारतीय लोकतन्त्रमाथि विभिन्न तवरबाट गरेको प्रहारलाई भारतीय विपक्षी दलहरूले थेग्न सकिरहेका छैनन्।
राज्यको चरम दुरुपयोग गरेर राज्य/केन्द्र स्तर सबैका दलहरूलाई भाजपाले एक हिसाबले प्रताडित गर्दै आएको छ। सम्भवतः मोदी नेतृत्वको पार्टीले सृजना गरेको चुनौतीलाई २०२४ को निर्वाचनमा पराजित गर्ने लक्ष्यका साथ कैयौं आफ्ना फरक मतका बाबजुद भारतमा प्रायः सबै ठूला विपक्षी दल एक भएका हुन्। भारतीय संविधान, लोकतन्त्र र धर्मनिरपेक्षतामाथि भइरहेको आक्रमण विरुद्ध सबै २६ विपक्षी पार्टी मिलेर गठबन्धन बनाएपछि यसले पैदा गरेको तरंग अघिल्लो भारतीय राष्ट्रिय कंग्रेस नेतृत्वको युपीएको भन्दा बढी देखिएको छ।