कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको छ । सोहीकारण मौसमी कामदारका रुपमा दक्षिण कोरिया पठाइदिने भन्दै आएका भ्रामक सूचनामा विश्वास नगर्न मन्त्रालयले सचेत गराएको छ ।
मन्त्रालयले भनेको छ, ‘मौसमी कामदारका रुपमा वैदेशिक रोजगारीमा जान वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति प्रदान गरिएको छैन ।’
मौमसी कामदारको भिषामा दक्षिण कोरिया लगायत अन्य देशमा जान कोही कसैलाई रकम बुझाउने काम नगर्न समेत मन्त्रालयले सूचित गरेको छ । त्यसरी कसैले व्यक्तिगत वा संस्थागत रुपमा दक्षिण कोरिया लगात अन्य मुलुकमा मौसमी कामदारका रुपमा पठाइदिने भन्दै रकम माग गरेमा त्यसको सूचना दिएर ठगी निरुत्साहित गर्न सहयोग गर्न समेत मन्त्रालयले भनेको छ ।
वैदेशिक रोजगारीमा जान वैदेशिक रोजगार विभागबाट जारी हुने श्रम स्वीकृति मात्र आधिकारिक कागजात हुने भन्दै त्यसबाहेकका कुनै पनि कागजातका आधारमा वैदेशिक रोजगारीमा नजान समेत मन्त्रालयले सूचित गरेको छ ।