अर्थतन्त्र सुधारबारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव राष्ट्रिय सभामा पेस
काठमाडौं । राष्ट्रियसभामा बिग्रँदो अवस्थामा रहेको अर्थतन्त्रको सुधारका लागि भन्दै जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गरिएको छ ।
बुधबारको राष्ट्रिय सभा बैठकमा, सांसद मदनकुमारी शाह (गरिमा) प्रस्तावक रहनुभएको ‘सुदृढ अर्थतन्त्र निर्माण गर्नका लागि अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन नीति र योजना निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्ने’ विषयको सार्वजनिक महत्वको प्रस्ताव पेस गरिएको हो । यो प्रस्तावमा सांसद अनिता देवकोटा, खिमलाल देवकोटा, जयन्तीदेवी राई, जीतेन्द्रनारायण देव, तुलप्रसाद विश्वकर्मा, दिलकुमारी रावल थापा (पार्वती), प्रमिला कुमारी, डा बिमला राई पौड्याल, शेखरकुमार सिंह र सुरेशकुमार आले मगर समर्थक रहेका छन् ।
राष्ट्रियसभामा उक्त प्रस्ताव पेस गर्दै सांसद शाहले, राजनीतिक शासन व्यवस्था फेरिए पनि मुलुकको अर्थतन्त्र र विकासको अवस्था नफेरिएको बताएकी छिन् ।सबैको लक्ष्य र उद्देश्य समाजवाद उन्मुख अर्थतन्त्र निर्माण हुनुपर्ने बताउँदै उनले भनिन् ‘मुलुकको अर्थतन्त्र ओरालोमा छ, यसैकारण मुलुक कतै असफल हुने त होइन भन्ने चिन्ता छ, पर्याप्त लगानी आएको छैन, नीतिगत भष्ट्राचार रोकिएको छैन, पारदर्शीता छैन। ’
मुलुकको खराब अर्थतन्त्रका कारण आम मानिसको जनजीवन नराम्रोसँग प्रभावित भइरहेको भन्दै उनले
आर्थिक गतिविधिमा सुस्तता देखिँदा र सूचकहरु बिग्रँदा त्यसले नागरिकमा सरकारप्रति वितृष्णा जगाएको बताइन् ।
सांसद खिमलाल देवकोटाले अर्थतन्त्रमा संरचनागत समस्या रहेकाले त्यसलाई जरैबाट समाधान गरिनुपर्ने बताए । कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को तुलनामा व्यापार घाटाको अनुपात बढ्दै गएको उनको भनाइ छ ।
उक्त प्रस्तावमाथि छलफल गर्नेक्रममा सांसदहरुले यो विषयलाई सत्तापक्ष र प्रतिपक्षका रुपमा नभइ सबैको साझा सरोकारको विषय हुनुपर्नेमा जोड दिए । सार्वजनिक महत्वको प्रस्ताव पेस हुँदै गर्दा र छलफलका क्रममा अर्थमन्त्री उपस्थित हुनुपर्ने माग सांसदहरुको छ । प्रमुख प्रतिपक्ष दलका सांसदले प्रस्तावको छलफलमाथि भाग नलिने भन्दै विरोध जनाएपछि १४ मिनेटका लागि बैठक नै स्थगित भएको थियो । अर्थमन्त्री राष्ट्रिय सभामा उपस्थित भएसंगै छलफल अघि बढेको हो ।