बारा र तनहुँमा ४५ प्रतिशत हाराहारीमा मतदान, चितवनको २ ठाउँमा मतदान स्थगित
काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि तीन वटा रिक्त रहेको क्षेत्रमा उपनिर्वाचन भइरहेको छ ।
विहान ७ बजेदेखि सुरु भएको मतदानमा उत्साहजकरुपमा मतदान भइरहे पनि चितवनको दुई वटा मतदान केन्द्रमा भने मतदान स्थगित छ ।
चर्को गर्मीबीच पनि बारा क्षेत्र नम्बर २ मा अपरान्ह ३ बजेसम्ममा ४३ प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यलयले जनाएको छ । यस्तै तनहुँ क्षेत्र नम्बर १ मा ४५ प्रतिशत बढी मत खसेको निर्वाचन कार्यालयको भनाइ छ ।
यता चितवनमा पनि अपरान्ह ३ बजेसम्ममा ४२ प्रतिशत बढी मत खसे पनि दुई मतदान केन्द्रमा भएको विवादको कारण मतदान स्थगित भएको छ ।
भरतपुर महानगरपालिका वडा नं। ११ भोजाडस्थित नयाँ किरण कमल कुसुम मावि केन्द्रमा मतदान स्थगित छ । यस्तै भरतपुरकै वडा नम्बर ७ स्थित कृष्णपुर मावि केन्द्रमा रोकिएको मतदान सञ्चालन हुने तरखर देखिएको छैन् । यद्धपि दुबै ठाउँमा पुनः मतदानका लागि प्रयास भइरहेको निर्वाचन कार्यालयले जनाएको छ ।
नयाँ किरण मावि केन्द्रमा मतदान भइरहेको बेला चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछाने आफ्ना समर्थकहरुसहित पुगेर नाराबाजी गरेपछि तनाव उत्पन्न भएको थियो । मतदानस्थलमा नाराबाजी गरेको भन्दै त्यसको विरोधमा अन्य दलका कार्यकर्ता उत्रिएपछि मतदानस्थल बाहिर झडप समेत भएको थियो । प्रहरीले लाठीचार्ज गरेर स्थिति नियन्त्रणमा लिएको थियो । अहिले यस मतदान केन्द्रमा नेपाली सेना खटाइए पनि मतदान सुरु हुन सकेको छैन् ।
यस्तै कृष्णपुर माविमा पनि रवि लामिछाने कार्यकर्तासहित मतदान केन्द्रमा आएको विरोधमा अन्य दल उत्रिएपछि रोकिएको मतदान अझै सुरु हुन सकेको छैन् ।