सदस्य–सचिव घिसिङद्वारा नेपालगञ्ज रंगशालाको सेन्थेटिक ट्रयाकको शिलान्यास
बाँके । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले नेपालगञ्ज रंगशालामा सेन्थेटिक ट्रयाकको आइतबार शिलान्यास गरेका छन् ।
सिन्थेटिक ट्रयाक निर्माणको जिम्मेवारी पञ्चकन्या÷सिन्कोट्स, कुपण्डोल, ललितपुरले पाएको छ । सम्झौता अनुसार पञ्चकन्या÷सिन्कोट्सले १० महिनामा निर्माण कार्य सम्पन्न गर्नु पर्ने छ । सेन्थेटिक ट्रयाकको लागत ११ करोड ६४ लाख ६४ हजार १ सय ४० रुपैयाँ ३९ पैसा रहेको छ । यहि नेपालगञ्ज रंगशलामा आठौं राष्ट्रिय खेलकुदको उद्घाटन र समापन कार्यक्रमसंगै फुटबल खेल भएको थियो ।
सो अवसरमा सदस्य–घिसिङले लुम्बिनी प्रदेश एथलेटिक्समा इतिहास बोकेको प्रदेश भएको बताउदै एथलेटिक्स खेलाडी उत्पादनका लागि पनि उर्वर प्रदेश भएको धारणा व्यक्त गरे ।
‘एथलेटिक्समा लुम्बिनी प्रदेश इतिहास बोकेको प्रदेश हो । १२ औं राष्ट्रपति रनिङ शिल्डमा लुम्बिनी समग्रमा टिम च्याम्पियन बन्दा त्यसको मुख्य आधार भनेको लुम्बिनीले एथलेटिक्समा प्राप्त गरेको पदक नै थियो ।’ सदस्य–सचिव घिसिङले भने– ‘लुम्बिनी एथलेटिक्सका लागि सम्भावना भएको प्रदेश मात्र होइन । विगतका नतिजाले पनि लुम्बिनी एथलेटिक्सका लागि उर्वर प्रदेश हो भन्नेमा दुई मत रहेन ।’
सदस्य–सचिव घिसिङले नेपालगञ्जमा पनि कम्तिमा एउटा अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता गर्न सकिने र लुम्बिनीबाट उत्पादन भएका खेलाडीले आफ्नै प्रदेशमा अभ्यास गर्ने अवसर पाउन भन्ने उद्देश्यले पनि परिषद्ले सेन्थेटिक ट्रयाक निर्माण गर्न लागेको बताए ।
उनले निर्माण सम्पन्न गर्ने अवधि १० महिना रहेकोले जिम्मेवारी पाएको संस्थाले समयमै निर्माण सम्पन्न गर्ने विश्वास व्यक्त गरे ।
‘निर्माण अवधि जम्मा १० महिना राखेका छौं । मलाई विश्वास छ जिम्मेवारी पाएको संस्थाले समयमै सकाउने छ ।’ सदस्य–सचिव घिसिङले भने– ‘मैलै म्याद थप्नु पर्ने स्थिति बनाउनु हुने छैन । र, म म्याद थप्नका लागि तयार पनि छैन ।’
सेन्थेटिक ट्रयाकको शिलान्यासपछि सदस्य–सविच घिसिङले नेपालगञ्ज रंगशाला हातामा रहेको पौडी पोखरीलगायत अन्य पूर्वाधारको निरीक्षण पनि गरेका थिए ।
सो अवसरमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सुमित्रा चौधरी, अन्जन धमला, दिपेन्द्र विष्टलगायतको उपस्थिति रहेको थियो ।