रास्वपाले दियो जनताको जनजीविकासँग जोडिने गरी काम गर्न निर्देशन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नेता तथा कार्यकर्तालाई जनताको दैनिक जनजीविकासँग जोडिने गरी काम गर्न निर्देशन दिएको छ । यही फागुन २७ गतेदेखि चितवनको सौराहामा जारी पार्टीको आन्तरिक प्रशिक्षणका क्रममा सहभागी नेताहरुलाई उत्पादन केन्द्रित रणनीति बनाएर काम गर्न निर्देशन दिइएको हो ।
प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका सभापति रवि लामिछानेले जनताको दैनिक जीवनसँग जोडिने गरी काम गर्न सबै तहका नेतृत्वलाई निर्देशन दिए। उहाँले उत्पादनमा देशलाई आत्मनिर्भर बनाउने गरी सङ्गठनले काम गर्नुपर्ने बताएको लामिछानेका निजी सचिव प्रकाश सिग्देलले जानकारी दिए ।
उनका अनुसार सभापति लामिछानेले सङ्गठनलाई चलयमान बनाउन स्थानीयस्तरसम्म सङ्गठन विस्तार आवश्यक रहेको उल्लेख गरेका छन् । आगामी स्थानीय तहको निर्वाचन र प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा पार्टीलाई पहिलो पार्टी बनाउने गरी तल्लो तहबाट काम गर्न जरुरी रहेको उनको भनाइ थियो ।