सुरक्षित भविष्यको खोजीमा अष्ट्रेलिया उडे राष्ट्रिय फुटबल टोलीका सदस्य सुनिल बल
नेपाली राष्ट्रिय फुटबल टोलीका नियमित सदस्य सुनिल बल सुरक्षित भविष्यका लागि भन्दै अस्ट्रेलिया उडेका छन्।
बललाई अष्ट्रेलियाको नेपाली क्लबले स्थानीय प्रतियोगितामा भाग लिन आमन्त्रण गरेपछि उनी ए डिभिजन लिग छोडेर अष्ट्रेलिया उडेका हुन्।
घरेलु फुटबलका प्रभावशाली मिडफिल्डर बल नेपालको कमजोर फुटबल संरचना र त्यसबाट जीवन निर्वाह गर्न कठिनाइ भएपछि विदेसिएका हुन्।
संकटा क्लबका कप्तानसमेत रहेका सुनिलले घरेलु फुटबलका अधिकांश ठूला क्लबबाट व्यावसायिक फुटबल खेलिसकेका छन्।
करियरकै उच्च फर्ममा रहेका उनी गत वर्षको लिगको सर्वोत्कृष्ट खेलाडी बनेका थिए। मछिन्द्रले लगातार दोस्रो पटक लिग उपाधि जित्दा सुनिलको प्रर्दशन प्रभावशाली थियो।
फुटबलका ३ दर्जनभन्दा बढी खेलाडी आफ्नो सुरक्षित भविष्यका लागि करियर छाडेर रोजगारीका लागि अष्ट्रेलिया पुगेका हुन्।
अस्ट्रेलिया जाने खेलाडीमा राजन गुरुङ, रुमेश बर्तौला, रवि थिङ, आमिर श्रेष्ठ, मिच्छेन तामाङ, सन्तोष तामाङ, दर्शन गुरुङ, विमल बस्नेत, हेमन गुरूङ, विमल राना, रोहित कार्की, एलन न्यौपानेलगायत छन्।