नेपाल एयरलाइन्सको जहाज ठोक्किनबाट जोगियो
नेपाल एयरलाइन्ससँग आकाशमा नै ठोकिनबाट बचेको एयर इण्डियाको बदमासीमाथि छानबिन हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै उक्त घटनामा संलग्न एयरलाइन्समाथि छानबिन गर्ने भएको हो ।
गत शुक्रबार नेपाल एयरलाइन्सको जहाज मलेसियाको क्वालालम्पुरबाट त्रिभुवन विमानस्थल आउँदै थियो । ठिक त्यति नै बेला दिल्लीबाट काठमाडौँका लागि उडेको एयर इण्डियाको जहाज १९ हजारको फिटको उचाइबाट उडिरहेको थियो । एयर ट्राफिक कन्ट्रोलर (एटीसी) को अनुमतिबिना नै एयर इण्डियाको जहाज एक्कासि १५ हजार फिटमा झर्दा नजिकै रहेको नेपाल एयरलाइन्सको जहाजसँग झन्डै ठोक्किन पुगेको थियो । लगत्तै नेपाल एयरलाइन्सले उडान केही फिट डाउन गरेर दुर्घटनाबाट बचेको थियो । यो घटनाप्रति नागरिक उड्डयन प्राधिकरणको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
हवाई सुरक्षा जस्तो अति संवेदनशील विषयमा एयर इण्डियाको चरम लापरबाही देखाएको भन्दै अर्थात् छानबिन गर्न दुई सदस्यीय छानबिन समिति गठन गरिएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।