आज राष्ट्रिय सभा सदस्यका लागि उपनिर्वाचन
रिक्त एक राष्ट्रिय सभा सदस्य पदका लागि आज उपनिर्वाचन हुने भएको छ।
लुम्बिनी प्रदेशतर्फ एक राष्ट्रिय सभा सदस्य पद रिक्त भएपछि उपनिर्वाचन गर्न लागिएको हो। तत्कालीन राष्ट्रिय सभा सदस्य नेकपा एमालेका खिमलाल भट्टराईले असोज २३ मा राजीनामा दिएसँगै उक्त पद रिक्त थियो।
आज बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म मतदानका लागि समय दिइएको प्रदेश निर्वाचन कार्यालय दाङले बताएको छ।
घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान केन्द्र तोकिएको छ। गतदान सकिएपछि गणना गरिने र परिणाम आजै सार्वजनिक गर्ने तयारी छ।
उपनिर्वाचनका लागि तीन दलबाट एक(एक जनाले उम्मेदवारी दिएका छन्। गत माघ ११ मा उम्मेदवारी दर्ता भएको थियो।
नेपाली कांग्रेसबाट माधवप्रसाद आचार्य, नेकपा एमालेबाट कुमार दसौदी र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ।
उपनिर्वाचनमा प्रदेश सभा सांसद, पालिकाका प्रमुख र उपप्रमुख मतदाता हुन्छन्। लुम्बिनी प्रदेश सभा सदस्य एक जनाको मतभार ४८ र स्थानीय तहका प्रमुख उपप्रमुखमध्ये हरेकको मतभार १८ छ।
यहाँ कुल मतदाता संख्या ३०५ जना रहेका छन्। जसमध्ये प्रदेश सांसदको संख्या ८७ र पालिका प्रमुख तथा उपप्रमुख मतदाताको संख्या २१८ जना रहेको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारीले बताए।
लुम्बिनी प्रदेशमा १०९ पालिका रहेका छन्। तीमध्ये कांग्रेसले ४८ पालिकामा जितेको छ। एमालेले २७, माओवादीले २५, जसपाले ३, जनमोर्चा र लोसपाले २,२ तथा राप्रपा र जनता प्रगतिशीलले १,१ स्थानमा जितेका छन्।
८७ सदस्यीय प्रदेश सभामा एमालेले २९, कांग्रेसले २७, माओवादीले १०, राप्रपा र नागरिक उन्मुक्तिले ४र४, जसपा, लोसपा र जनमतले ३र३ जनमोर्चा र नेकपा एकीकृत समाजवादीले १र१ सिट जितेका छन्।
यहाँ स्वतन्त्रबाट २ जनाले जितेका छन्। तीन जनाले जिते पनि फेरि एक जना माओवादी केन्द्रमै फर्किएका थिए।