बुढानीलकण्ठका १३ हजार बालबालिकाको मुटु परीक्षण गर्दा १५५ जनामा देखियो मुटु रोग
गंगालाल हृदय रोग केन्द्र र बुढानीलकण्ठ नगरपालिकाले गरेको एक अध्ययनमा बुढानीलकण्ठका १३ हजार बालबालिकाको मुटु परीक्षण गर्दा १५५ जनामा मुटुको रोग देखिएको छ । उक्त अध्ययनमा विभिन्न किसिमका जन्मजात मुटुका रोग भएका १४६ र मुटु बाथ रोग समस्या भएका ९ जना बालबालिका भेटिएका हुन् ।
अस्पतालले बुढानीलकण्ठ नगरपालिकामा भएका सरकारी र निजी अस्पतालका ५ देखि १५ बर्षका बालबालिकालाई समेटेको थियो ।
अस्पतालका निर्देशक डा. चन्द्रमणि अधिकारीका अनुसार १९ वटा सरकारी अस्पतालका ३८२० र निजी अस्पतालका ९ हजार १८० जना बालबालिकामा इको स्क्रिनिङ र अन्य स्वास्थ्य परीक्षण गरिएको थियो । सोमबार जन्मजात मुटु रोग सचेतना सप्ताहको अवसरमा केन्द्रले आयोजना गरेको कार्यक्रममा उक्त रिपोर्ट सार्वजनिक गरिएको हो ।