पुनः गृहमन्त्री रवि लामिछानेलाई बनाउन एमालेको दबाब छैन’
सत्तारूढ दल नेकपा (एमाले) एमालेका नेता तथा पूर्वमन्त्री शेरबहादुर तामाङले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेलाई पुनः गृहमन्त्री बनाउन एमालेको कुनै दवाब नरहेको दाबी गरेका छन् । यद्यपि चितवन–२ मा उपनिर्वाचन हुँदैगर्दा रबिलाई सत्ता गठबन्धन दलले सहयोग गर्ने उनको भनाइ छ । सोमबार राजधानीमा आयोजित कार्यक्रममा उनले रबिको नागरिकता विवादसँगै रहेको राहदानी विवादमा पनि कानुनबमोजिम छानबिन हुन आवश्यक रहेको औंल्याए । कुनै व्यक्तिमाथि कानूनरु रूपमा प्रश्न उठेपछि निष्पक्ष रूपमा छानबिन हुनुपर्ने तामाङले बताए ।
‘प्रश्न उठेपछि सबै मान्छे कानुनी प्रकृयामा जानुपर्छ । सबै प्रकृयाबाट उहाँ गुज्रिनुहुन्छ,’ उनले भने । उनले गत मंसिर ४ को निर्वाचनको परिणामले छ महिनामै मध्यावधि निर्वाचनको अवस्था सिर्जना गरेपछि आफूहरु सरकारमा जानुपरेको पनि जिकिर गरे । उनले आफूहरुले गठबन्धन बनाएर निर्वाचनमा गएका दलहरुलाई जनताले सरकार सञ्चालनको म्याण्डेट नदिएपछि एमालेले सरकार गठनको पहल गरेको बताए ।
‘नेपाली कांग्रेस र माओवादी केन्द्र अरु दलसहित चुनावमा गएका थिए । सरकार गठनको तयारी पनि गर्नुभएको थियो, उहाँहरुले एमालेलाई हराउने कोशिस पनि गर्नुभएको थियो । तर, जनताले म्यान्डेट नदिएपछि र छ महिनाभित्र नै मध्यावधि निर्वाचन हुने स्थिति देखापरेपछि हामीले सरकार गठनको प्रयास गर्यौं । हाम्रो प्रयास सफल पनि भयो,’ उनले भने । सरकार गठनका बेलामा भएको सहमतिअनुसार राष्ट्रपतिको निर्वाचनमा एमालेले उम्मेदवार उठाउने र उक्त उम्मेदवारलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समर्थन गर्ने उनको दाबी छ ।