फेसबुककी सीओओ शेरिल स्याण्डबर्गले राजीनामा दिइन्
विश्वको सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल फेसबुकको मातृ कम्पनी मेटाकी प्रमुख कार्यसञ्चालन अधिकृत (सिओओ) शेरिल स्याण्डबर्गले पदबाट राजीनामा दिएकी छिन् ।
पछिल्लो १४ वर्षदेखि उक्त पदमा रहेकी शेरिलले बुधबार राजीनामाको घोषणा गरेकी हुन् । एक फेसबुक पोस्ट मार्फत उनले अब जीवनको नयाँ अध्यायको समय आएको बताएकी छिन् ।
शेरिल स्याण्डबर्ग फेसबुक स्थापना भएको ४ वर्षपछि सन् २००८ मा कम्पनीसँग जोडिएकी थिइन् । आफ्नो लामो कार्यकालमा उनले फेसबुकको डिजिटल विज्ञापन व्यवसायलाई निकै उत्कृष्ट ढंगले सम्हालिन् र कम्पनीलाई नयाँ उचाइँमा पुर्याइन् ।फेसबुकलाई १०० अर्ब डलरको कम्पनीसम्म पूराउनका लागि उनले अहम भूमिका खेलेकी थिइन् ।