पोल्याण्डका युद्ध विमान युक्रेनलाई दिने प्रस्तावबाट अमेरिका पछि हट्यो
रूसमा बनेका पोल्याण्डका मिग-२९ युद्ध विमान युक्रेनलाई दिने प्रस्तावबाट अन्तत: अमेरिका पछि हटेको छ।
पोल्याण्डको सो प्रस्ताव अमेरिकाले इन्कार गरेको संचार संस्था रोयटर्सले जनाएको छ।
युक्रेनका राष्ट्रपति भोलोदमिर जेलेन्स्कीको आग्रहमा युद्ध विमान युक्रेन पठाउने विषयमा अमेरिकाले केहि समयदेखि पहल गरिरहेको थियो।
पहिलेको वार्सा संगठनको सदस्य र अहिले नेटोको सदस्य राष्ट्र पोल्याण्डसँग रहेका रूसका युद्ध विमान युक्रेनलाई पठाउने सम्बन्धमा अमेरिकाले केहि समयदेखि पोलिस सरकारसँग कुरा गरिरहेको थियो।
गत साता आफ्नो पूर्वी युरोपियन राष्ट्रहरुको भ्रमणताका अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्केनले त्यसको चाँजो मिलाउने प्रयास गरेका थिए।
पोल्याण्डमा आफ्ना मिग-२९ युद्ध विमान युक्रेनलाई दिएको खण्डमा त्यसको सोधभर्नामा अमेरिकाले आफ्ना अत्याधुनिक एफ-१६ युद्ध विमान पोल्याण्डलाई दिनेबारे छलफल जारी रहेको थियो।
युक्रेनी पाइलटहरुले मिग-२९ विमान सजिलै र विनाप्रशिक्षण उडाउन सक्ने भएकाले युक्रेनले रुससँग युद्ध लड्न ती विमानहरुको माग गरेको थियो।
पोल्याण्डका ती विमान कसरी युक्रेन पठाउने भन्ने बारेमा चुनौती थियो।
पोल्याण्डले सिधै आफ्नो मुलुकबाट विमान पठाउँदा रसियाले युक्रेनी युद्धमा संलग्न भएको आरोप लगाउन सक्थ्यो। त्यसले अन्तत: आफूलाई पनि युद्धमा तान्ला वा रुसले आफूमाथि आक्रमण गर्ला भन्ने चिन्ता पोल्याण्डलाई थियो।
नेटोको सदस्य राष्ट्र पोल्याण्डसँग रूसको लामो सीमा जोडिन्छ। अन्ततः पोल्याण्डले आफ्ना २८ वटा मिग-२९ विमान जर्मनीमा रहेको सैन्य अखडामा पठाउने र अमेरिकाले ती विमान युक्रेनलाई दिनुपर्ने प्रस्ताव गर्यो।
पोल्याण्डको सो प्रस्तावलाई अमेरिकाले तुरुन्तै अस्वीकार गरेको छ। आफ्नो सैन्य अखडाबाट युद्ध विमान युक्रेन पठाउने कुराले रूस-युक्रेन युद्धमा आफ्नो प्रत्यक्ष संलग्नता देखिने अमेरिकाको चिन्ता छ। त्यसले रुससँगको द्वन्दमा अमेरिका र नेटो सदस्य राष्ट्रहरु प्रत्यक्ष रुपमा तानिन सक्ने जोखिम मोल्न अमेरिकाले चाहेको छैन।
अघिल्लो हप्ता मोल्डोभामा बोल्दै अमेरिकी विदेशमन्त्री ब्लिन्केनले आफूहरुले युक्रेनलाई सघाउन चाहे पनि अमेरिका रुससँग सिधै लडाईमा नफसोस् र यो युद्ध युरोपमा विस्तार नहोस् भन्नेमा अमेरिका सचेत रहेको बताएका थिए।