राष्ट्रसंघमा नेपालसहित १४१ मुलुक उभिए युक्रेनको पक्षमा
संयुक्त राष्ट्रसंघमा नेपालसहित १४१ मुलुक रूसले आक्रमण गरेको युक्रेनका पक्षमा उभिएका छन्।
संयुक्त राष्ट्रसंघको महासभाले बुधबार युक्रेनमाथि रूसी आक्रमणको भर्त्सना गर्दै लडाइँ रोक्न र आफ्ना सैनिक फिर्ता गर्न रूससँग माग गर्दै प्रस्ताव पारित गरेको छ। नेपालले उक्त प्रस्तावका पक्षमा मतदान गरेको छ। यसअघि गत सोमबार जेनेभामा भएको राष्ट्र संघीय मानव अधिकार परिषदमा पनि नेपालले युक्रेनका विषयमा आपतकालीन छलफल हुनुपर्ने पक्षमा मत हालेको थियो।
बुधबार राति भएको महासभाको मतदानमा चीन र भारत भने अनुपस्थित रहेको समाचार संस्था रोयटर्सले जनाएको छ। गत बिहीबार रूसले युक्रेनमाथि आक्रमण गरेको थियो। सुरूदेखि नै यी दुई मुलुकले आक्रमणको विरोध गरेका छैनन्। मानव अधिकार काउन्सिलको मतदानमा त चीनले रूसको पक्षमा मत हालेको थियो। बुधबारको मतदानमा भारत र चीनसहित ३५ मुलुक अनुपस्थित भएका थिए।
रूसका पक्षमा भने पाँच भोट आएको थियो। उत्तर कोरिया, सिरिया, बेलारूस र इरिट्रियाले रूससँगै मिलेर विपक्षमा भोट हालेका थिए।
नेपाल सुरूदेखि नै युक्रेनमाथि भएको रूसी आक्रमणको विरोधमा छ। सार्वजनिक रूपमै नेपालले आफूलाई युक्रेनको पक्षमा उभ्याएको यो चौंथो पटक हो। रूसले युक्रेनमाथि आक्रमण गरेको पहिलो दिन नै परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेको थियो।
उक्त विज्ञप्तिमार्फत् नेपालले युक्रेनमाथि रूसले गरेको आक्रमण संयुक्त राष्ट्रसंघको बडापत्रविपरीत भएको बताएको थियो।
नेपालले संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषदमा पनि युक्रेनको पक्षमा भोट हालेको छ।
सोमबार जेनेभामा भएको परिषदको बैठकमा राष्ट्रसंघका लागि युक्रेनका राजदूतले रूसी आक्रमणबारे आपतकालीन छलफल गर्नुपर्ने प्रस्ताव गरेका थिए। परिषद सदस्य रहेको रूसका प्रतिनिधिले भने यस्तो छलफल जरूरी नरहेको बताएका थिए। विवाद भएपछि प्रस्तावमाथि मतदान भएको थियो।
मतदानका क्रममा नेपालले युक्रेनको प्रस्तावमाथि छलफल हुनु पर्ने पक्षमा भोट दिएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन्।