उत्तरप्रदेशमा योगी आदित्यनाथले आज मुख्यमन्त्रीको शपथग्रहण गर्दै
भारतको उत्तर प्रदेशमा योगी आदित्यनाथ आज दोस्रो कार्यकालका लागि मुख्यमन्त्री बन्दैछन् ।
आज अपराह्न चार बजे लखनउको इकाना स्टेडियममा उनको सपथ ग्रहण समारोह हुने छ । समारोहमा प्रमुख अतिथिको रुपमा प्रधानमन्त्री नरेन्द्र मोदीसमेत सहभागी हुने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
सपथ ग्रहण समारोहलाई भव्य बनाउन लखनउका सडक, चोक र सार्वजनिक स्थानहरुलाई झण्डा, झिलिमिली बत्ती र आकर्षक होर्डिङ बोर्डहरुले सजाइएको छ ।
सपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदीका साथै गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंहसहित केन्द्रीय सरकारका २५ मन्त्रीहरु पनि सहभागी हुने छन् । मध्य प्रदेश, हरियाणा, मणिपुर, हिमाचल प्रदेश, अरुणाचल प्रदेश, त्रिपुरा, गोवा, असम, गुजरात, उत्तराखण्ड, कर्नाटक, नागाल्याण्डका मुख्यमन्त्रीहरुलाई पनि पाहुनाको रुपमा बोलाइएको छ ।