योगी आदित्यनाथको शपथ ग्रहण समारोह अघि एक व्यक्ति प्रहरीबाट मारिए
उत्तर प्रदेशमा योगी आदित्यनाथले दोस्रो कार्यकालका लागि मुख्यमन्त्री पदको शपथ ग्रहण गर्नुभन्दा केही घण्टा अगाडि प्रहरी कारबाहीमा एक व्यक्ति मारिएका छन् ।
उत्तर प्रदेशको राजधानी लखनउको हसनगञ्ज क्षेत्रमा राहुल सिंह भन्ने व्यक्ति प्रहरी इन्काउन्टरमा मारिएका हुन् । उनी अलीगञ्ज ज्वलेर्समा भएको लुटपाटका आरोपी भएको भारतीय मिडियाहरुले जनाएका छन् । लुटपाटको क्रममा एक व्यक्तिको हत्यासमेत भएको थियो । उनीमाथि एक लाख रुपैयाँ इनाम तोकिएको थियो ।
शुक्रबार बिहान करिब चार बजे हसनगञ्ज क्षेत्रमा उनी रहेको थाहा पाएपछि लखनउ प्रहरीले घेरा हालेको थियो । त्यसपछि दुबै तर्फबाट फायरिङ भएको र प्रहरीको गोली लागेर उनको मृत्यु भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
योगी आदित्यनाथले मुख्यमन्त्री पदको लगातार दोस्रो इनिङ सुरु गर्दै गर्दा आजको शपथ ग्रहण समारोहमा सुरक्षा व्यवस्था कडा पारिएको छ । इकाना स्टेडियममा हुने शपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह लगायतका विशिष्ट पाहुनाहरु सहभागी हुँदैछन् ।