बीबीसीपछि सीएनएन र ब्लुमबर्गले पनि रुसमा काम रोके
यसैबीच बीबीसीपछि सीएनएसन र ब्लुमबर्गले पनि रुसमा अस्थायी रुपमा आफ्ना कामकाज बन्द गर्ने निर्णय गरेका छन् ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले हालै एक कानुन लागू गर्ने निर्णय गरेपछि ती समाचार संस्थाहरूले रुसमा आफ्ना काम रोक्ने निर्णय गरेका हुन् ।
रुसी राष्ट्रपति पुटिनले हालै रुसी सेनाविरुद्ध ‘फेक न्यूज’ प्रकाशन वा प्रसारण गरेमा १५ वर्षसम्म जेल सजायँ हुने व्यवस्थासहितको कानुन लागु गरेका छन् ।
रुसले युक्रेनमा गरेको आक्रमणलाई ‘आक्रमण’, ‘हमला’ वा ‘युद्ध’ भन्न प्रतिबन्ध लगाएको छ । पुटिनले युक्रेनमा गरिएको आक्रमणलाई ‘विशेष सैन्य अभियान’ भन्दै आएका छन् । उनको यो ‘अभियान’लाई आक्रमण वा युद्ध भनिए कारबाही भोग्नुपर्ने हुनसक्छ ।
त्यसैले ब्लुमबर्गले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘रुसमा कानुनमा बदलाव आएपछि कुनै पनि स्वतन्त्र पत्रकारलाई अपराधी मानिन सक्छ । यस्तो अवस्थामा रुसभित्र सामान्य पत्रकारिता जारी राख्न असम्भव भएको छ ।’
यसैगरी सीएनएनका प्रवक्ताले पनि सीएनएनको च्यानल बन्द गर्न लागेको बताएका छन् ।
गत शुक्रबार मात्रै बीबीसीले रुसमा आफ्नो कामकाज बन्द गरेको थियो । यसका साथै बीबीसीका रुसी सेवा जस्ता कतिपय वेबसाइटको पहुँच रुसभित्र रोक लगाइएको थियो । रुसमा फेसबुक, ट्वीटर र युट्युबमा पनि प्रतिबन्ध लगाइएको छ ।