सीमा क्षेत्रमा रुस र युक्रेनबीच तनाव बढ्नु गम्भीर चिन्ताको विषय : भारत
भारतले युक्रेनको सीमामा रुसी महासंघसँग तनाव बढ्नु गम्भीर चिन्ताको विषय भएको बताएको छ ।
मंगलबार राष्ट्रसंघीय सुरक्षा परिषद्को आपतकालीन बैठकमा बोल्दै संयुक्त राष्ट्रसंघका लागि भारतका स्थायी प्रतिनिधि टीएस तिरुमूर्तिले सीमामा रुस र युक्रेनबीच तनाव बढ्नु गम्भीर चिन्ताको विषय भएको बताएका हुन् ।
‘युक्रेनको सीमामा रुसी महासंघसँग तनाव बढ्नु गम्भीर चिन्ताको विषय हो’, तिरुमूर्तिले भने, ‘यी घटनाक्रमले उक्त क्षेत्रको शान्ति एवं सुरक्षा कमजोर हुन सक्छ ।’ रुस र युक्रेनबीच जारी संकटलाई तत्काल कम गर्नु पर्ने कुरालाई सबैले प्राथमिकतामा राख्नु पर्ने पनि उनको भनाइ थियो ।
विश्व समुदायले सैन्य तनावलाई व्यहोर्न नसक्ने भन्दै सम्बन्धित पक्षलाई सबैले दबाब दिनुपर्ने समेत तिरुमूर्तिले प्रस्ट पारे । ‘हामीले सम्बन्धित पक्षलाई मतान्तर हटाउन थप दबाब दिनुपर्छ’, उनले भने, ‘हामीले कुनै पनि सैन्य तनाव व्यहोर्न सक्दैनौं ।’