सर्वाधिक ओमिक्रोन संक्रमितका बीच फ्रान्सले लगायो प्रतिबन्ध, ‘रिमोट वर्किङ’ अनिवार्य
फ्रान्सले कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टमाथि चिन्ताबीच कडा कोभिड प्रतिबन्धको घोषणा गरेको छ । ३ जनवरीदेखि देशमा ‘रिमोट वर्किङ’ अनिवार्य हुनेछ । रिमोट वर्किङलाई ‘वर्क फ्रम होम’ पनि भनिन्छ । यो नियम ती सबैमाथि लागू हुनेछ जो कर्पोरेट अफिसबाहिरबाट काम गर्न सक्छन् । आन्तरिक कार्यक्रमका लागि सभा २ हजार मानिससम्म सिमित हुनेछ ।
फ्रान्समा शनिबार १ लाखभन्दा बढी नयाँ संक्रमण दर्ता गरिएको छ । महामारी सुरु भएपछि हालसम्म यो देशमा सबैभन्दा धेरै संक्रमणको संख्या हो । तर यति हुँदाहुँदै पनि सरकारले नयाँ वर्षको पूर्व सन्ध्यामा कर्फ्यू नलगाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री कार्यालयका अधिकारी ज्यां कास्टेक्सले मन्त्रीमण्डलको बैठकपछि पत्रकारसँग भने, ‘यस्तो लाग्छ कि यो महामारी कहिल्यै समाप्त नहुने एउटा फिल्म जस्तै हो ।’ उक्त बैठकपछि उनले नयाँ सुरक्षा उपायको जानकारी दिए । फ्रान्सका स्वास्थ्यमन्त्री ओलिवियर वेरनले भने, ‘कोरोनाभाइरस संक्रमण हरेक दुई दिनमा दोब्बर भइरहेको छ । ’ उनले देशमा कोरोनाको ‘मेगा वेभ’ को चेतावनी समेत दिए ।