फुमियो किशिदा जापानका नयाँ प्रधानमन्त्री बन्ने भए
जापानका पूर्वविदेश मन्त्री फुमियो किशिदा प्रधानमन्त्री बन्ने भएका छन्।
लिबरल डेमोक्रेटिक पार्टी (एलपिडी)को नेतृत्वको चुनाव जितेसँगै उनी प्रधानमन्त्री बन्ने पक्का भएको समाचार संस्था एपीले जनाएको छ। गत वर्ष सेप्टेम्बरमा योशिहिदे सुगा प्रधानमन्त्री बनेका थिए। एक वर्षको कार्यकालपछि उनले नेतृत्व छोडेका हुन्।
किशिदा सम्भवत: आउँदो सोमबार संसदमा हुने चुनावबाट प्रधानमन्त्री बन्नेछन्। जहाँ उनको पार्टी हाबी छ।
बुधबार भएको चुनावमा किशिदाले २५७ मत पाएका थिए। खोप मन्त्री तारो कोनोले भने १७० मत पाएको जापानी समाचार संस्था केउदो न्युजले जनाएको छ। तर बहुमत नपाएपछि उनीहरूबिच पुन: मतदान भएको थियो। त्यसमा भने उनले तारो कोनोलाई हराउँदै पार्टीका नेता बनेका हुन्।
पहिलो चरणको चुनावमा दुई महिला प्रतिस्पर्धी सानाइ टाकाइची र सेइको नोडा पनि थिए। तर सानाइले एक सय ८८ मत र सेइकोले ६३ मत पाएपछि चुनावी दौडबाट बाहिरिएका थिए।
जापानमा एलपिडीको नेतृत्वको चुनाव जित्ने नेता प्रधानमन्त्री बन्ने गरेका छन्। किनकी सदनमा पार्टीको बहुमत छ।