केपी ओली भ्रष्टाचारीका राजनेता : रमेशजंग रायमाझी
नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले एमाले अध्यक्ष केपी शर्मा ओली भ्रष्टाचारीका राजनेता भएको आरोप लगाएका छन् । मंगलबार राष्ट्रियसभामा एमाले सांसद खिमलाल भट्टराईले ओलीलाई राजनेताको संज्ञा दिँदै कांग्रेस र माओवादी केन्द्रबारे टिप्पणी गरेका थिए ।
भट्टराईले कांग्रेस कुइराको काग भएको, विचारका दृष्टिले मृतप्रायः रहेको र माओवादी केन्द्र वैशाखीको खोजीमा रहेको भनी टिप्पणी गरेका थिए । भट्टराईको भनाइको खण्डन गर्दै कांग्रेस सांसद रायमाझीले केपी ओली भ्रष्टाचारीका राजनेता, भ्रष्टाचारका महानायक भएको भनिएको खण्डमा स्वीकार्न सकिने बताए ।
‘संसद विघटन गरेर संसद समाप्त गर्ने महानायक, भ्रष्टाचारका महानायकले त्यो कदम चालेपछि सांसदहरु बाध्य हुनुभयो नयाँ सरकार बनाउन । यो अवस्था कसले ल्यायो ? हामीले ल्याएको हो ?’ उनले थपे, ‘भ्रष्टाचारका महानायक, भ्रष्टाचारी राजनेता भन्नुस् म स्वीकार्न तयार हुन्छु । भ्रष्टाचारीलाई राजनेता भन्ने ?’
ओली नेतृत्वको सरकार भ्रष्टाचार गर्नमा लागेको र असंवैधानिक शासन चलाउन उद्धत भएपछि बाध्य भएर कांग्रेस सरकारको नेतृत्व गर्न जानु परेको उनले बताए ।