क्युबामा ६० वर्षपछि कम्युनिष्ट शासनविरूद्ध प्रदर्शन
संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यको छेउमै छ, टापु राष्ट्र क्युबा।
अमेरिकाको नाकैमुनि कम्युनिष्ट शासन चलाइरहेको क्युबा पछिल्लो ६ दशकदेखि शान्त थियो। अरू प्रजातान्त्रिक मुलुकहरूमा हुनेजस्ता प्रदर्शन र आन्दोलन त्यहाँ हुँदैन थिए।
सुरूमा फिडेल क्यास्ट्रो र पछि उनका भाइ राहुल क्यास्ट्रोले कम्युनिष्ट शासन चलाएको क्युबामा स्वास्थ्य प्रणालीले निकै मजबुद् भएको मानिन्थ्यो। रेमिट्यान्स र पर्यटनबाट हुने आम्दानीले नागरिकलाई खान-लाउन पुगेकै थियो। कम्युनिष्ट शासन मन नपराउनेहरू अनेक बहानामा भागेर अमेरिकामा शरण लिन्थे।
जुलाईको दोस्रो सातादेखि भने राजधानी हवानासहित देशभरि मुख्य सहरमा क्युबालीहरू सडकमा निस्किए। कम्युनिष्ट सरकारविरोधी नारा लगाएका उनीहरूमध्ये केहीले प्रहरीमाथि ढुंगा हाने। केहीले पसलमा लुटपाट गरे। पश्चिमी सहर सान आन्तोनियो डे लस बानोसबाट सुरू भएको आन्दोलन केही दिनमै ४० सहरमा फैलियो।