विश्वासको मत पाएपछि प्रधानमन्त्री देउवालाई दिए मोदीले शुभकामना
प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत प्राप्त गरेलगत्तै भारतीय समकक्षी नरेन्द्र मोदीले उनलाई बधाई र शुभकामना दिएका छन्।
मोदीले आइतबार राति साढे १० बजे आफ्नो सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, 'प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई र सफल कार्यकालको शुभकामना। दुई देशबीच सबै क्षेत्रहरूमा रहँदै आएको विशिष्ट साझेदारीलाई थप विस्तार गर्न र जनस्तरको गहिरो सम्बन्धलाई थप सुदृढ बनाउन म तपाईंसँग सहकार्यको अपेक्षा गर्दछु।'
मोदीले फोन गरेर पनि देउवालाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री देउवाले पनि मोदीको त्यही ट्वीट 'कोट' गर्दै त्यसमाथि आफ्नो धन्यवाद सन्देश लेखेका छन्।
देउवाले आफ्नो सन्देशमा भनेका छन्, 'प्रधानमन्त्री नरेन्द्र मोदीजी, तपाईंको शुभकामना नोटको निम्ति धेरै धन्यवाद। दुई देश र जनताबीचको सम्बन्ध सुदृढ तुल्याउन म तपाईंसँग निकट सहकार्यको अपेक्षा राख्छु।'
सर्वोच्च अदालतको फैसलापछि गत असार २९ गते नै देउवा प्रधानमन्त्री नियुक्त भएका हुन्। तर एक साता बित्न आँट्दा पनि भारतीय समकक्षीका तर्फबाट बधाई आएको थिएन। जबकि, २०७१ मा मोदी पहिलोचोटि प्रधानमन्त्री भएयता उनले नेपालमा सरकार परिवर्तन हुनेबित्तिकै बधाई दिँदै आएका थिए।