माधव नेपाललाई तीन नेताले भने- ‘अध्यक्ष ओलीलाई भेटेर कुरा गर्नुस्’
नेकपा एमालेका अध्यक्ष केपी ओली पक्षका नेताहरूले वरिष्ठ नेता माधव कुमार नेपालसँग आइतबार बिहान भेट गर्नुभएको छ । ओली पक्षका नेताहरु विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङ र शंकर पोखरेल नेता नेपाललाई भेट्न उहाँकै निवास कोटेश्वर पुग्नु भएको थियाे । तीनै नेताहरुले वरिष्ठ नेता नेपाललाई अध्यक्ष ओलीसँग भेटेर संवाद गर्न आग्रह गरेको बताइएको छ ।
सो क्रममा नेता नेपालले सकारात्मक प्रतिक्रिया दिएको सुवासचन्द्र नेम्वाङले बताउनु भयो । ‘हामीले वरिष्ठ नेता नेपाललाई भेटेर अध्यक्ष ओलीसँग छलफल गर्न आग्रह गरेका हौँ । हामीले उहाँसँग भेट्नुस्, कुरा गर्नुस् भन्यौँ,’ नेम्वाङले भन्नुभयो, ‘उहाँले सकारात्मक प्रतिकृया दिनुभएको छ । तपाइँहरु पनि औपचारिक रुपमा लागिपर्नुस् भन्नुभएको छ ।’
नेता नेपालले पनि ओलीसँगको शनिबारको टेलिफोन संवादमा पार्टी एकताको कार्यदल सक्रिय बनाउन आग्रह गर्नुभएको थियो । अध्यक्ष ओलीले नेता नेपाललाई सोमबारसम्ममा सर्वोच्चमा दिएको रिटको हस्ताक्षर फिर्ता लिन चेतावनी दिनुभएको छ भने नेता नेपालले जारी केन्द्रीय कमिटीको बैठक रोक्न आग्रह गर्दै आउनुभएको छ ।
ओलीले समय सीमासहित हस्ताक्षर फिर्ता गर्न दिनुभएको चेतावनीमा नेता नेपालले हस्ताक्षर कुनै हालतमा फिर्ता नगर्ने जवाफ दिनु भएको छ ।