देउवा प्रधानमन्त्री बन्नुअघि मन्त्री छान्न आन्तरिक छलफलमा दलहरू
सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि आज विपक्षी गठबन्धनमा रहेका दलहरूले आन्तरिक छलफललाई तीव्रता दिएका छन्।
देउवा नेतृत्वको सरकारमा सहभागी हुने/नहुने, भए क-कसलाई मन्त्री बनाउनेबारे उनीहरूको छलफल केन्द्रीत छ। राष्ट्रपति कार्यालयका अनुसार सर्वोच्चको परमादेशअनुसार आज साँझ ५ बजेसम्म देउवा प्रधानमन्त्री नियुक्त हुनेछन्। उनको सपथको भने टुंगो भइसकेको छैन।
सर्वोच्चको फैसलापछि सोमबार अपरान्ह विपक्षी गठबन्धनको बैठक बसेको थियो। नेकपा एमालेका नेता माधवकुमार नेपालको आयोजनामा कोटेश्वरमा बसेको उक्त बैठकमा नेता नेपालले आफूहरू अब विपक्षी गठबन्धनमा रहिरहन नसक्ने जानकारी गराएका थिए।
उक्त बैठकले तत्कालका लागि सानो मन्त्रिपरिषद बनाउने पनि निर्णय गरेको थियो। साथै मन्त्रीहरूको नाम दिन पनि देउवाले आग्रह गरेका थिए। अब बन्ने देउवा सरकारमा प्रतिनिधि सभामा एक सांसद रहेको राष्ट्रिय जनमोर्चा भने नजाने भएको छ। सांसदसमेत रहेकी जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले पार्टी तत्काल सरकारमा जान पक्षमा नरहेको बताइन्।
‘सरकारमा जानेबारे अहिलेसम्म पार्टीको निर्णय भएको छैन। सरकारमा जाने आवश्यकता देख्यो भने मात्रै जाने हो अहिले जाने पक्षमा छैनौं,’ उनले भनिन्, ‘हामी दुई/तीन दिनमा यसबारे निर्णय गरेर धारणा सार्वजनिक गर्छौं, मेरो बुझाइमा सरकारमा गइँदैन होला।’
यस्तै सरकारमा अहिले नै जाने/नजाने भन्नेबारे बैठकपछि निर्णय हुने जसपा नेताहरू बताउँछन्।