समायोजनमा मनोमानी गरेको भन्दै निधिसँग रिसाए पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी समायोजनका नाममा मनोमानी रुपमा क्रियाशील सदस्यता वितरण गरेको भन्दै उपसभापति विमलेन्द्र निधिसँग आक्रोश पोखेका छन् ।
उनले अन्य पार्टीबाट कांग्रेस प्रवेश गरेका नेताहरुलाई प्रक्रिया नपु¥याई क्रियाशील सदस्यता दिइएको भन्दै असन्तुष्टि जनाएका हुन् ।
कांग्रेसले उपसभापति निधिको संयोजकत्वमा समायोजन समिति गठन गरेको थियो । उक्त समितिको सिफारिसमा अन्य पार्टीबाट आएका नेताहरुलाई क्रियाशील सदस्यता वितरण गरिएको थियो । तर महाधिवेशन नजिकिएसँगै क्रियाशील सदस्यतालाई लिएर तीव्र विवाद देखिएको छ ।
आठ लाख भन्दा बढी क्रियाशील सदस्यमध्ये अन्य पार्टीबाट आएका व्यक्तिको क्रियाशील सदस्यतामा बढी विवाद देखिएको हो । संस्थापन पक्षले आफू अनुकुल हुने गरी अन्य पार्टीबाट आएका व्यक्तिका नाममा क्रियाशील सदस्यता दिएको संस्थापनइतर पक्षको आरोप छ ।