खिमलाल देवकोटाले उम्मेदवारी फिर्ता नलिने
बागमती प्रदेशमा रिक्त एक राष्ट्रिय सभा सदस्य पदका लागि जेठ ६ गते हुन गइरहेको उपनिर्वाचनमा उम्मेदवार रहेका खिमलाल देवकोटाले उम्मेदवारी फिर्ता नलिने बताएका छन्।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाको समर्थन र सहयोगमा उम्मेदवारी दिएकोले यसमा पुनर्विचार गर्ने कुरा कल्पनाबाहिर रहेको देवकोटाले बताएका छन्। एमालेभित्र देखिएका विवाद पछिल्लोसमय समाधान उन्मुख रहेपछि देवकोटाको उम्मेदवारी के हुन्छ भन्ने चासो थियो। संघीयताविज्ञ रहेका देवकोटा नेता माधव नेपाल निकट मानिन्थे।
यहाँ देवकोटा, गृहमन्त्री रामबहादुर थापा बादल र नेमकिपाका कृष्ण तामाङ उम्मेदवार छन्। थापा एमालेका तर्फबाट सूर्य चिन्हमा उम्मेदवार हुन्।
२०७४ सालमा भएको निर्वाचनमा थापा माओवादी केन्द्रबाट विजयी भएका थिए। एमाले प्रवेशसँगै उनलाई माओवादीले कारवाही गरेपछि पद रिक्त थियो।
केन्द्रमा जे-जस्तो राजनीतिक घटनाक्रम: भए पनि आफूले उम्मेदवारी फिर्ता नलिने उनले बताएका हुन्।
‘नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीलगायत अन्य दलको समर्थन र सहयोगबाट मैले उम्मेदवारी दिएको स्थितिमा यसमा पुर्नविचार गर्ने कुरा कल्पनाभन्दा बाहिरको विषय हो,’ उनले शुक्रबार विज्ञप्ति निकालेर भनेका छन्।
उनले निष्ठा र इमान्दारिताको राजनीतिप्रति गहिरो लगाव रहेको पनि उल्लेख गरेका छन्। देवकोटा स्वतन्त्र रूपमा कलम चिन्ह लिएर चुनाव उठेका छन्।