नयाँ सरकार गठनबारे छलफल गर्न देउवाले बोलाए बैठक
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि दलहरूलाई आह्वान गरेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यसबारे छलफल गर्न बैठक राखेका छन्।
देउवाले कांग्रेसका शीर्ष नेता, नेकपा माओवादी केन्द्र, जसपालगायत दलहरूका शीर्ष नेतालाई छलफलका लागि बोलाएका हुन्।
देउवा निवास बुढानिलकण्ठमा आज दिउँसो २ बजे बैठक बस्न लागेको हो। कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले सभापति देउवाले आज बैठक राखेको बताए।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधि सभामा विश्वासको मतको प्रस्ताव राख्दा उनको पक्षमा ९३ मतमात्रै आएको थियो। विश्वासको मत नपाएपछि स्वत: प्रधानमन्त्री ओली पदमुक्त भएका छन्।
ओलीलाई बहुमत पुर्याउन १३६ सांसद चाहिन्थ्यो। १२१ सांसद भएको नेकपा एमालेका सबै सांसदले ओलीलाई मत दिएनन्। नेता माधवकुमार नेपाल पक्षका २८ जना सांसद प्रतिनिधि सभा बैठकमै अनुपस्थित थिए।
ओलीको विपक्षमा १२४ मत आएको थियो भने जसपाको महन्थ ठाकुर पक्षका १५ जना तटस्थ बसेका थिए।
ओलीले विश्वासको मत गुमाएलगत्तै सोमबार नै सभापति देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपाका अध्यक्ष उपेन्द्र यादवले संयुक्त विज्ञप्ति जारी गर्दै संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठन गर्न आह्वान गर्नका लागि राष्ट्रपतिलाई आग्रह गरेका थिए।