माधव नेपाल समूहका थप तीन सांसदलाई स्पष्टीकरण
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल समूहका थप तीन जनालाई स्पष्टीकरण सोधेका छन् । अध्यक्ष ओलीको निर्देशनमा केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले गंगा चौधरी, कलिला खातुन र समीना हुसेनलाई स्पष्टीकरण सोधेका हुन् ।
तीनै जनालाई सामाजिक सञ्जाल म्यासेञ्जरबाट स्पष्टीकरण सोधिएको छ । यसअघि नेता नेपालसहित २७ जनालाई इमेलमार्फत स्पष्टीकरण सोधिएको थियो ।
‘मेसेञ्जर एउटा माध्यम हो । अहिले कोरोना महामारी भएकाले भौतिक रुपमा पत्र पठाउन सम्भव छैन’, तामाङले भने । तीनै जनाले जवाफ दिइसकेको तामाङले बताए । ‘सकारात्मक रुपमा स्पष्टीकरण आएको छ । मैले अध्यक्षलाई त्यो जवाफ दिइसकेको छु,’ उनले भने ।
‘स्पष्टीकरण पत्रमा नयाँ राजनीतिक दल खोल्ने र पार्टी हित विपरीत गतिविधिमा लागेको हो ? भनेर सोधिएको छ,’ सांसद खातुनले भनिन् । सांसदबाट कारबाही किन नगर्ने भन्ने पनि सोधिएको उनले बताइन् ।