कोरोना सङ्क्रमण दरमा केही कमी
काठमाडौँ, वैशाख २६ गते । अघिल्लो दिनको तुलनामा देशमा शनिबार कोरोना सङ्क्रमण केही घटेको छ । शुक्रबार सार्वजनिक गरिएको कोरोना सङ्क्रमण विवरणमा नौ हजार १९६ रहेकोमा शनिबार आठ हजार ४१८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको पाइएको छ ।
वैशाख १६ गतेदेखि राजधानी उपत्यकालगायत कतिपय जिल्लामा कोरोना नियन्त्रणकै लागि निषेधाज्ञा लगाउन थालेपछि पहिलो पटक शनिबार सङ्क्रमण दरमा केही कमी आएको हो । वैशाख १५ गते चार हजार ८९७ जनामा सङ्क्रमण पुष्टि भएको थियो भने १० दिनपछि गएको शुक्रबार सङ्क्रमितको सङ्ख्या दोब्बरको हाराहारीमा पुगेको थियो । शुक्रबारको तुलनामा शनिबार केही कमी भएको पाइएपछि निषेधाज्ञाले कोरोना सङ्क्रमणको साङ्ग्लो चुडाउन थालेको हो कि जस्तो देखिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा पछिल्लो २४ घण्टामा १७ हजार ३१५ जनाको पीसीआर परीक्षण गर्दा थप आठ हजार २८७ जनामा कोरोना पुष्टि भएको हो । यस्तै ९८९ जनाको एन्टिजेन परीक्षण गर्दा १३१ जना सङ्क्रमित पाइएका छन् । अघिल्लो दिनभन्दा कोरोनाका कारण मृत्यु भने बढी देखिएको छ ।
शनिबार थप ५३ जना सङ्क्रमितको निधन भएको छ । शुक्रबार ५० जनाको निधन भएको थियो । हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार ६३२ पुगेको छ । मन्त्रालयका अनुसार थप तीन हजार ३७० जना निको भएका छन् । हाल निको हुने दर ७७ दशमलव ४ प्रतिशत रहेको छ । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ८३ हजार ४९३ पुगेको छ भने क्वारेन्टाइनमा ३९८ जना रहेका छन् ।
यस्तै शनिबार काठमाडौँ उपत्यकामा तीन हजार ११३ जना कोरोना सङ्क्रमित थपिएका छन् । मन्त्रालयका अनुसार शनिबार काठमाडौँ जिल्लामा दुई हजार २७० जनालाई कोरोना पुष्टि भएको छ । यसैगरी ललितपुरमा ४६२ र भक्तपुर जिल्लामा ३८१ जना सङ्क्रमित थपिएका छन् । हाल काठमाडौँ उपत्यकामा ३५ हजार ६७८ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । तीमध्ये काठमाडौँ जिल्लामा २६ हजार ४२६, भक्तपुरमा तीन हजार ५४० र ललितपुरमा पाँच हजार ७१२ जना सक्रिय सङ्क्रमित छन् ।
काठमाडौँ उपत्यकामा मृतकको सङ्ख्या उच्च रहेको छ । मन्त्रालयका अनुसार काठमाडौँमा ८२०, भक्तपुरमा १७२ र ललितपुरमा २३३ सङ्क्रमितको मृत्यु भएको छ । काठमाडौँमा एक लाख १४ हजार ५८० जना सङ्क्रमित निको भएका छन् । यस्तै ललितपुरमा १७ हजार ८१३ र भक्तपुरमा नौ हजार ९१४ जना निको भएका छन् ।
यस्तै देशभरका अस्पतालका आईसीयू र भेन्टिलेटर पनि कोरोना सङ्क्रमित बिरामीले भरिएका छन् । मन्त्रालयका अनुसार ७५८ जना सङ्क्रमित आईसीयू र २३१ जना सङ्क्रमित भेन्टिलेटरमा उपचाररत छन् । कुल ९८९ जना सङ्क्रमित आईसीयू र भेन्टिलेटरमा उपचार गराइरहेका छन् । शुक्रबार ९५९ जना कोरोना सङ्क्रमित आईसीयू र भेन्टिलेटरमा उपचाररत थिए ।
मन्त्रालयका अनुसार प्रदेश १ मा १०४ आईसीयू र २० भेन्टिलेटरमा, प्रदेश २ मा ६३ आईसीयू र ३५ भेन्टिलेटरमा, बागमती प्रदेशमा ३८६ आईसीयू र १२० जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् । यसैगरी गण्डकी प्रदेशमा ६१ जना आईसीयू र १३ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ८२ जना आईसीयू र २० जना भेन्टिलेटरमा, कर्णालीमा ३३ जना आईसीयू र १० जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा २९ जना आईसीयू र १३ जना भेन्टिलेटरमा छन् । यस्तै काठमाडौँ उपत्यकाका अस्पतालमा ३०४ जना सङ्क्रमित आईसीयू तथा भेन्टिलेटरमा उपचाररत छन् ।
साभारः गोरखापत्र अनलाइन