गल्ती महसुस गरेर आए पार्टीमा काम गर्ने अवसर दिइन्छ: ओली
नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती महसुस गरेर आए पार्टीमा काम गर्ने अवसर दिइने बताएका छन्।
पार्टीमा समानान्तर गतिविधि अगाडि बढाइरहेका नेता माधवकुमार नेपाल लगायतलाई संकेत गर्दै ओलीले उनीहरूलाई सम्झाउने र सच्याउने प्रयास जारी राखेको बताए।
ओलीले नेता नेपालसँग बुधबार दुई घण्टा ‘वान टु वान’ कुराकानी गरेका थिए।
उक्त कुराकानी भएको भोलिपल्ट बिहीबार बल्खुस्थित नेकपा एमाले केन्द्रीय कार्यालय भवन शिलान्यासमा पुगेका ओलीले कसैले गल्ती महसुस गरेर आए पार्टीमा काम गर्ने अवसर दिइने प्रष्ट पारेका हुन्।
‘हामी सम्झाइबुझाइ गरिरहेका छौं। सम्झाउने र सच्याउने प्रयास छ। हामीले पार्टीमा क्षति नहोस् भनेर कसैलाई पनि कारवाही गरेको छैन,’ ओलीले भने, ‘तर अनुशासनहीनता र अराजकतासँग हामी सम्झौता गर्दैनौं।’
कर्णाली प्रदेशमा फ्लोर क्रस गरेर पार्टीकै सांसदले मुख्यमन्त्रीलाई विश्वासको मत दिनुलाई उनले अराजकता भनेका छन्। उनले पार्टीविरोधी गुटका गतिविधिलाई कुनै हालतमा स्वीकार नगरिने बताएका छन्।
‘व्यक्तिगत तवरमा कुराकानी गर्न सकिन्छ। तर समूहगत रूपमा कुनै गुटको प्रतिनिधित्व गर्नेसँग कुरा गर्न सकिँदैन,’ उनले भने, ‘अब पार्टीमा गुट चल्दैन। दुवैतर्फ बराबर मानिस भएर डोरी तान्न सकिँदैन। बरू डोरी चुँडिएला कोही कतै जाँदैन।’
उनले पार्टीमा काम गर्न अवसर दिन लागिएको विषयलाई कमजोरी नठान्न पनि चेतावनी दिएका छन्।