खनाल–नेपाल समूहका स्थायी कमिटी सदस्यको बैठक जारी
नेकपा एमालेको वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपाल समूहका स्थायी कमिटी सदस्यहरू शुक्रबार बैठकमा जुटेका छन् । कलंकीस्थित एक पार्टी प्यालेसमा सुरु भएको बैठकमा आगामी कार्ययोजनाबारे छलफल हुने स्थायी कमिटी सदस्य बेदुराम भुसालले जानकारी दिए ।
अध्यक्ष केपी शर्मा ओलीले चार नेतालाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरेपछि यो समूहले एमाले पुनर्गठन अभियान चलाउने तयारी गरेको छ । भुसालका अनुसार पहिलो चरणमा वडा तहदेखि प्रदेशसम्म समानान्तर कमिटी बनाइने भएको छ । खनाल–नेपाल समूहले यसअघि नै ‘डकुमेन्ट’ नै तयार पारेर राजनीतिक–वैचारिक अभियान चलाउने निर्णय लिइसकेको छ ।
चैत ४ र ५ गते काठमाडौंमा आयोजित राष्ट्रिय कार्यकर्ता भेलाबाट पारित अवधारणा–पत्र (परिमार्जनसहित), १७ बुँदे प्रस्ताव र ओलीलाई पठाइएका प्रतिस्पष्टीकरण पत्रलाई ‘बुकलेट’ बनाएर तल्ला कमिटीसम्म प्रशिक्षणमा जाने खनाल–नेपाल समूहको तयारी छ ।
भुसालका अनुसार परिमार्जनसहितको दस्ताबेज लगभग तयार भइसकेको छ । ‘आजको बैठकमा त्यसबारे हुनेछ,’ उनले भने, ‘बैठकमा पछिल्लो राजनीतिक परिस्थितिबारे पनि छलफल हुनेछ ।’