रामबहादुर थापा ‘बादल’ एमालेबाट राष्ट्रियसभा सदस्यकाे उम्मेदवार बन्ने
नेकपा एमालेले रामबहादुर थापा बादललाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको छ । शुक्रबार बालुवाटारमा बसेको नेकपा एमालेको महाधिवेश आयोजक कमिटी बैठकले बादललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
२०७४ सालको निर्वाचनमा नेकपा (माओवादी) केन्द्रबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित हुनु भएका ‘बादल’ नेकपा एमाले गएपछि कारवाहीमा परेसँगै उहाँको सदस्य पद गुमेको थियो ।
शुक्रबारको महाधिवेश आयोजक कमिटी बैठकले बादललाई नेकपा एमालेले पार्टीमा चौँथो वरियतासहित स्थायी कमिटी सदस्यमा समेत राखेको छ । निर्वाचन आयोगले बिहीबार रिक्त रहेको राष्ट्रियसभाको पदका लागि जेठ ६ मा उपनिर्वाचन गर्ने मिति तोकेको थियो ।
राष्ट्रियसभा सदस्य निर्वाचनमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका प्रमुख, उपप्रमुख र प्रदेश सभा सदस्यहरुले मतदान गर्न पाउने व्यवस्था छ ।