माधव नेपाल : केपी ओलीलाई हटाएर नयाँ केन्द्रीय कमिटी बनाउँछु
नेकपा एमालेका वरिष्ट नेता माधवकुमार नेपालले केपी ओलीलाई हटाएर आफ्नै नेतृत्वमा केन्द्रीय कमिटी बनाउने घोषणा गरेका छन्।
बिहिबार पोखरामा आयोजित कास्की जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले केन्द्रीय कमिटीबाट केपी ओलीलाई हटाएर नयाँ कमिटी बनाउने घोषणा गरेका हुन् । नेता नेपालले कार्यकर्तालाई निर्देशन दिँदै जिल्ला जिल्लामा संगठित हुन निर्देशन दिएका छन्। कमिटीका बैठकहरू नियमित गर्न निर्देशन दिँदै नेता नेपालले अब चाँडै आफ्नो नेतृत्वमा केन्द्रीय कमिटि घोषणा गर्ने जानकारी दिए।
उनले अब चाँडै केन्द्रीय कमिटी पनि घोषणा गर्ने जानकारी दिँदै जिल्लामा सबै संगठित हुन कार्यकर्तालाई आग्रह गरे। ‘कमिटी बैठकहरू अब नियमित गर्नुहोस् । हामी सबै ठाउँमा संगठित भएर केन्द्रीय कमिटी पनि घोषणा गर्दैछौं,’ नेता नेपालले भने।
यसैबीच नेता नेपालले कास्की जिल्लास्तरीय समानान्तर कमिटी बनाएका छन्। धनराज आचार्यको नेतृत्वमा गठन भएको समितिमार्फत उनले त्यहीँबाट समानान्तर कमिटी गठन अभियान सुरु भएको घोषणा गरे।
नेपालसँगै नेता सुरेन्द्र पाण्डे पनि पोखरा पुगेका थिए। समानान्तर कमिटीको सचिवमा होमबहादुर नेपाली तोकिएका छन्। ७५ सदस्यीय जिल्ला कमिटीका बाँकी सदस्यसहित समानान्तर टिम घोषणा गरिएको हो।
यसअघि नेपाल समूहले युवा संघ, महिला संघ र अनेरास्ववियुको पनि समानान्तर कमिटी बनाइसकेका छन्। युवा संघ काठमाडौंको बुद्धनगरमा समानान्तर कार्यालयसमेत खोलिसकेको छ।