ओली-गौतमबीच बालुवाटारमा डिनर मिटिङ
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष वामदेव गौतमबीच बालुवाटारमा ‘डिनर मिटिङ’ भएको छ । प्रधानमन्त्री रहेका अध्यक्ष ओलीलाई ‘साथ दिन्नँ’ भन्दै टेबुलबाटै उठेर वामदेव हिँडेको बताइएको छ ।
उपाध्यक्ष गौतमको सचिवालयले दिएको जानकारी अनुसार गत सालको फागुन २८ गते अध्यक्ष ओलीद्वारा गरिएका एकलौटी निर्णय फिर्ता नभएसम्म साथ नदिने जवाफ गौतमले दिएका हुन् ।
नेता गौतमले ओलीसँग डिनिङ टेबुलमै भएको कुराकानीको आफ्ना प्रेस सल्लाहकार विश्वमणि सुवेदीको फेसबुकमार्फत् सार्वजनिक गर्दै खाँदाखाँदै उठेर हिँडेको तस्वीर समेत राखेका छन् ।
बिहीबार बेलुका प्रधानमन्त्री ओलीको सरकारी निवासमा भएको डिनर भेटमा दुवै नेताबीच संवाद भएको थियो । नेता गौतमले ओलीसँग आफ्नो पहिलेदेखि नै अटुट सम्बन्ध रहेको र रहिरहने बताउँदै अप्रिय निर्णयहरू चाहिँ स्वीकार्य नुहने बताएका थिए । फागुन २८ गतेका निर्णय फिर्ता लिन पनि उनले अनुराेध गरे । उक्त भेटमा एमाले प्रमुख सचेतक विशाल भट्टराई र कानुनमन्त्री लीलानाथ श्रेष्ठ पनि सँगै थिए ।
गाैतमका प्रेस सल्लाहकार सुवेदीले गाैतमकाे विचार लेखेका छन्, ‘हिजो बेलुकी ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा कमरेड केपीसँग डिनर मिटिङ भयो । उहाँले पार्टीकाे काममा आफूसँग फर्कन अनुरोध गर्नुभयो । मैले गत फागुन २८ गते तपाईंले गर्नुभएको अवैधानिक बैठकका निर्णय फिर्ता लिन अनुरोध गरेँ । उहाँले ती निर्णय फिर्ता हुँदैनन् भन्नुभयो । त्यसो भए म तपाईंसँग आउन पनि सक्दिनँ भनेर जवाफ दिएँ ।’