पूर्वमन्त्री जोशीको अन्त्येष्टि आज गरिँदै, श्रद्धाञ्जलीका लागि पार्थि शरीर सानेपामा राखिने
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको अन्तेष्टि आज (शनिबार) गरिने भएको छ ।
शुक्रबार राति ८ः२४ बजे नर्भिक अस्पतालमा उपचारकै क्रममा नेता जोशीको निधन भएको थियो । उनलाई मस्तिष्क घात भएपछि गत फागुन १४ गते नर्भिकमा भर्ना गरिएको थियो । तर निको हुन नसकेपछि अस्पतालमै निधन भएको हो ।
जोशीको पार्थिश शरीर अन्तिम श्रद्धान्जलीका लागि आज कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिने भएको छ । बिहान १० बजेदेखि १ बजेसम्म त्यहाँ राखिने र त्यसपछि शवयात्रा सुरु हुने बताइएको छ ।
यसैबीच नेपाली कांग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । नेता जोशीको निधनप्रति शोक व्यक्त गर्न उक्त बैठक बोलाइएको बताइएको छ ।
राजनीतिमा निष्ठावान् मानिने जाेशी पूर्व उद्योग मन्त्री थिए । उनी काठमाडौँमा लोकप्रिय नेताका रूपमा चिनिन्छन् । जोशीकै पहलमा नेपाल औषधि लिमिटेड पुनः सञ्चालनमा आएको थियो ।