म्यानमार प्रदर्शन : सुरक्षाकर्मीको गोलीबाट थप दुई जनाको मृत्यु
म्यानमारमा प्रदर्शन थप चर्किँदै जाँदा हिंसात्मक घटना पनि बढ्न थालेका छन् । त्यहाँ सैनिक ‘कू’को विरोध गरिरहेका प्रदर्शनकारीमाथि सुरक्षा चलाएको गोली लागेर थप दुई जनाको मृत्यु भएको छ । केही दिनअघि पनि सुरक्षाकर्मीकाे गोली लागेर घाइते भएकी एक युवतीको मृत्यु भएको थियो ।
म्यानमारको दोस्रो ठूलो शहर माण्डलेमा शनिबार सुरक्षाकर्मीले गोली चलाउँदा दुई जना प्रदर्शनकारीको मृत्यु भएको हो । समाचार एजेन्सीहरूकाे अनुसार एकजनाकाे टाउकोमा गाेली लागेर घटनास्थलमै मृत्यु भएको हाे भने अर्का एककाे छातीमा गोली लागेकाे थियाे । उनकाे उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जनाइएकाे छ ।
म्यानमारको सेनाले गत माघ १९ गते त्यहाँका राष्ट्रपति विन मिन्ट, स्टेट काउन्सिलर आङ साङ सुकी लगायत उच्च नेताहरूलाई नियन्त्रणमा लिएर सैनिक कू गरेकाे थियाे । त्यसयता विरोध प्रदर्शन भइरहेका छन् ।