दोस्रो दिन पनि हजारौँ मानिस सडकमा
म्यान्मारमा भएको सैन्य कू काे विरूद्ध त्यहाँ प्रदर्शनहरू लगातार हुन थालेका छन् । लगातार दोस्रो दिन पनि हजारौँ मानिसहरू विरोध प्रदर्शनका निम्ति सडकमा उत्रिएका छन् ।
म्यानमारकाे मुख्य शहर याङ्गोनमा प्रदर्शनकारीहरूले सैन्य तानाशाहको विरोध गर्दै नाराबाजी गरेका छन् । उनीहरूले प्रजातन्त्र पुनर्बहालीकाे माग गर्दै नाराबाजी सहित प्रदर्शन गरिरहेकाे बताइएकाे छ ।
बिबिसीका अनुसार प्रदर्शनकारीहले नेतृ आङ्ग सान सू चीको नेशनल लिग फर डिमोक्रेसी दलको रातो झन्डा तथा बेलुनहरू समेत बोकेका थिए । उनीहरूले सेनाकाे कब्जामा रहेकी नेतृ सू चीको रिहाइकाे माग समेत गरेका छन् ।
सोमवार म्यानमारकाे सेनाले सत्ता कब्जा गरेर नेतृ सू ची लगायतका नेताहरू गिरफ्तार गरेकाे थियाे । उनीहरूकाे अवस्था अज्ञात रहेकाे छ ।
यसअघि शनिबारदेखि नै प्रदर्शन चर्किन थालेपछि इन्टरनेट सेवाहरू बन्द गराइएकाे थियाे । एउटा पर्यवेक्षक समूह नेटब्लक्सक इन्टरनेट अब्जरभेटरीका अनुसार म्यान्मारमा अहिल इन्टरनेट लगभग पूर्ण अवरुद्ध पारिएको छ । सामान्य समयको तुलनामा त्यहाँ कनेक्टीभिटी केवल १६ प्रतिशतमा झारिएको उसले जनाएको छ । मानिसहरूलाई विरोध प्रदर्शनमा भेला हुन नसकून भनेर सेनाले ट्विटर तथा इन्स्टाग्राम र फेसबुक बन्द गराएको छ ।
प्रदर्शनकारीलाइ लक्षित गरी सडकमा बाक्लाे संख्यामा सुरक्षाकर्मीहरू तैनाथ गरिएकाे छ । दङ्गा नियन्त्रणका लागि आवश्यक बन्दोबस्तीका साथ उत्रिएका प्रहरीहरूले शहरको केन्द्र भागमा जाने बाटाहरू छेकेका छन् ।