ट्रम्पलाई दोषी ठहर नगरिए ‘फेरि दङ्गा हुन सक्छ’
तत्कालीन राष्ट्रपति डोनल्ड ट्रम्पले गत महिना अमेरिकी संसद्भवनमा दङ्गा गर्न उकासेको निष्कर्ष निकाल्दै डेमोक्र्याटहरूले ट्रम्पलाई दोषी ठहर नगरिए उनले फेरि त्यस्तो घटना गराउन सक्ने चेतावनी दिएका छन्।
ट्रम्पविरुद्ध महाभियोग लगाउने सुनुवाइका क्रममा बिहीवार अभियोजनदर्ताहरूले दङ्गाकारीहरूको भनाइ उल्लेख गर्दै ज्यानुअरी ६ मा क्यापिटल भवनमा भएको हिंसासँग ट्रम्पको सम्बन्ध भएको दाबी गरे। उनीहरूले उक्त घटनाबाट दीर्घकालीन हानि भएको तर्क गरे।
डेमोक्र्याटहरूले ट्रम्पमाथि लगाइएको महाभियोग पारित गर्न सिनेटरहरूलाई आह्वान गरेका छन्।
महाभियोग पारित गर्न सिनेटमा दुईतिहाइ बहुमत आवश्यक पर्छ। तर डेमोक्र्याटहरूसँग सामान्य बहुमत मात्र छ। महाभियोग पारित हुन १७ रिपब्लिकन सांसदले पनि साथ दिनुपरछ। महाभियोग पारित भए ट्रम्प राष्ट्रपतीय निर्वाचनमा सहभागी हुन पाउनेछैनन्।
ट्रम्पको टोलीले शुक्रवार उनको प्रतिरक्षामा आफ्ना तर्कहरू प्रस्तुत गर्नेछ।