नाइजेरियाकी पूर्व अर्थमन्त्री ओकोन्जो विश्व व्यापार संगठनको प्रमुखमा नियुक्त
नाइजेरियाकी पूर्व अर्थमन्त्री एन्गोजी ओकोन्जो–इवेला विश्व व्यापार संगठन (डब्लुटिओ) को प्रमुखमा नियुक्त भएकी छिन् । डब्लुटिओको इतिहासमा पहिपटक अफ्रिकी महिला प्रमुखका रुपमा नियुक्त भएकी हुन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका दिनहरुमा डब्लुटिओ निकै संकटबाट गुज्रिनु परेको थियो । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण उत्पन्न आर्थिक संकटबाट मुलुकहरुलाई राहत प्रदान गर्ने जिम्मेवारी पाएको डब्लुटिओ आफै संकटमा फसेको थियो ।
व्यापार क्षेत्रको यस शक्तिशाली संस्थाको महानिर्देशक पदमा नियुक्त भएसँगै उनले सुदृढ डब्लुटिओ धेरै मुलुकको चाहना रहेको बताएकी छिन् । नवनियुक्त ६६ वर्षीया अर्थशास्त्री ओकोन्जोले यसअघि विश्व बैंकमा पनि महत्वपूर्ण जिम्मेवारी सम्हालेकी थिइन । उनलाई डब्लुटिओको महानिर्देशकमा नियुक्त गर्न सदस्य राष्ट्रहरुले भर्चुअल विधिबाट मतदान गरेका थिए ।
लगभग निस्कृय र पक्षघातकै अवस्थामा पुगेको डब्लुटिओलाई पुनर्जीवित तुल्याउनु ओकोन्जोको काँधमा ठूलो जिम्मेवारी आएको छ । उनले भनिन् ‘कोभिड–१९ को महामारीका कारण सिर्जित आर्थिक क्षतिलाई पूर्ण र तिब्र गतिमा पुनर्जीवित तुल्याउने हो भने सुदृढ डब्लुटिओ निकै महत्वपूर्ण छ ।’ उनले डब्लुटिओका सामुन्ने धेरै चुनौती रहेका भन्दै मिलेर काम गरे अझ बलियो, बढी जीवन्त र यथार्थसँग अझ अनुकूलित बनाउन सकिने बताइन । ओकोन्जोले आगामी १ मार्चदेखि कार्यभार सम्हाल्ने छिन् । उनको कार्यकाल सन् २०२५ को अगष्ट ३१ सम्म हुनेछ ।