ट्रम्पकै दलका कतिपय सांसद ‘महाभियोगको पक्षमा’
अमेरिकी तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सले गत साता संसद् भवनमा भएको हूलदङ्गामा राष्ट्रपति डोनल्ड ट्रम्पको भूमिकालाई लिएर उनीविरुद्ध महाभियोग लगाउने कि नलाउने भन्ने निर्णय गर्दैछ।
डेमोक्र्याटहरूले राष्ट्रपतिमाथि क्यापिटल भवनमा आक्रमण गर्न आफ्ना समर्थकहरूलाई प्रोत्साहित गरेको आरोप लगाएका छन्। घटनामा पाँचजनाको मृत्यु भएको थियो। ट्रम्पको रिपब्लिकन पार्टीका केही सांसदहरूले हूलदङ्गा गर्न उक्साएको औपचारिक अभियोगमा डेमोक्र्याटहरूलाई साथ दिने बताएका छन्।
ट्रम्पले वासिङटन डीसीमा आयोजित र्यालीलाई सम्बोधन गर्दै नोभेम्बर महिनामा भएको चुनावको परिणामविरुद्ध लड्न आफ्ना समर्थकहरूलाई आग्रह गरेपछि गत बुधवार उक्त हिंसा भएको थियो।
तल्लो सदनमा बहस जारी रहेका बेला ट्रम्पले प्रदर्शनको योजना भइरहेको भन्ने पछिल्ला खबहरूप्रति प्रतिक्रिया जनाउँदै सबैलाई शान्तिको निम्ति अपिल गरेका छन्।
‘म आह्वान गर्छु, कुनै प्रकारको हिंसा, कानुनको उल्लङ्घन र तोडफोड हुनुहुँदैन,’ ह्वाइट हाउसद्वारा जारी विज्ञप्तिमा उनले भनेका छन्। आफू र अमेरिकी जनता त्यसको पक्षमा नरहेको उनको भनाइ छ। ट्रम्पले भनेका छन्, ‘तनाव सहज तुल्याउन र आक्रोश शान्त गर्न म सबै अमेरिकीलाई आग्रह गर्छु, धन्यवाद।’
राष्ट्रपति ट्रम्पले हिंसामा आफ्नो कुनै पनि किसिमको भूमिका अस्वीकार गरेका छन्।