पुटिनका आलोचक नाभाल्नी विमानस्थलबाटै पक्राउ परे
पाँच महिनापछि स्वदेश फर्किएका रूसका विपक्षी नेता अलेक्सी नाभाल्नीलाई विमानस्थलबाटै पक्राउ गरिएको छ।
नाभाल्नी रूसी राष्ट्रपति भ्लादिमर पुटिनका खरो आलोचक हुन्। पुटिन शासनमा भएका भ्रष्टाचारबारे उनले थालेको अनुसन्धानले रूसभरि पुटिनविरूद्ध आक्रोश जन्माएको छ। स्वेदश फर्किए क्रेमलिनले उनलाई पक्राउ गर्ने तयारी गरेको छ भन्ने थाहा पाएरै उनी रूस पुगेका थिए।
उनलाई पक्राउ गर्न रूसी अधिकारीहरूले जहाज नै डाइभर्ट गर्न लगाएका थिए। सुरूमा उनी चढेको जहाज मस्कोको भिनुकोभो विमानस्थलमा अवतरण हुने तय थियो। नाभाल्नीलाई स्वागत गर्न विमानस्थलमा उनका समर्थकको भीड लागेको थियो।
अन्तिम समयमा पाइलटले प्राविधिक समस्याका कारण पूर्वनिर्धारित विमानस्थलमा अवतरण गर्न नसक्ने बताए र जहाज डाइभर्ट गरे। नाभाल्नी पक्राउको विरोध गर्दै अमेरिका र युरोपियन युनियनका मुलुकले उनको तत्काल रिहाइका लागि माग गरेका छन्।