छिटो फैलिने नयाँ कोरोना भाइरसबारे केही जानकारी
कोरोना भाइरसको विश्वव्यापी लहर चलेयता यसको प्रकृति र गुणलाई लिएर एउटा स्थापित पहिचान कायम हुँदै गइरहेको थियो। तर, हालैका दिनमा बेलायततिरबाट आएको खबरले सबैको कन्सिरी फेरि तताउन थालेको छ।
बेलायतले कोरोना भाइरसकै एउटा नयाँ प्रजातिको आफूकहाँ विकास भएको जानकारी सार्वजनिक गरेपछि यसले संसारभर खतराको घन्टी बजाउन थालेको छ। वैज्ञानिकहरू पनि त्यसतर्फ सतर्कता अपनाउन सुरू गरेका छन्।
यो नयाँ भाइरस अझ बढी संक्रामक पाइएको छ भने यसको अनुवांशिक गुण पनि बेग्लै भेटिएको छ।
यो भाइरसलाई लिएर प्रारम्भिक अध्ययनका रिपोर्टहरू आउनासाथ बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले इशाइ धर्मावलम्बीको प्रमुख चाड क्रिसमसमा पनि देशभर कडा लकडाउन गर्ने भनिसकेका छन्।
त्यसैगरी बेलायततर्फको यात्रामा रोक लगाउन नेदरल्यान्ड्स, जर्मनी र अन्य युरोपेली मुलुकका अधिकारीहरूलाई पनि उनले सुझाव दिएका छन्। नेपालले पनि बेलायतबाट आउन रोक लगाइसकेको छ।
यो नयाँ भाइरस अब आएर गम्भीर बहस र विश्लेषणको केन्द्रमा पर्न थालेको छ।
जतिबेला कोरोना भाइरस संसारभर फैलियो, त्यतिबेलै यसमा अनेक रूपान्तरण पनि हुँदै गयो। यसरी भएका रुपान्तरणमध्येकै यो पनि एक हो। भाइरसमा हुने परिवर्तनले यस्तो रूपान्तरण गर्छ। अहिलेको यो नयाँ रूपान्तरणलाई 'बी.१.१.७' नाम दिइएको छ र यसका आफ्नै खाले गुण छन्।
यो प्रजातितर्फ अध्येताहरूको ध्यानाकृष्ट यही महिना भएको हो जतिबेला दक्षिणी बेलायततिरबाट आएका नमूनाहरूमा यसको उपस्थिति धमाधम देखियो। ती नमूना संकलन भने सेप्टेम्बरदेखि गरिएको थियो।
अध्येताहरूले जब यसको 'जिनोम' मिहिन अध्ययन गरे, त्यतिबेला यसमा तुलनात्मक रूपले ठूलै परिवर्तन भएको पाए। वैज्ञानिक हिसाबले हेर्दा २३ अंकको परिवर्तन भेटियो। कोरोना भाइरसमा भएका धेरैजसो परिवर्तनले भाइरसलाई या त नोक्सान वा प्रभावहीन पारिदिँदै आएको थियो। तर बी.१.१.७ नाम दिइएको यो परिवर्तन भने संक्रमण विस्तार गर्न एकदमै प्रभावकारी हुने अवस्था देखियो।
प्रारम्भिक अध्ययन गर्ने संयुक्त अधिराज्यका अनुसन्धाताहरूले फेलापारे अनुसार बेलायतको दक्षिणी भेगमा यो भाइरस तीव्र गतिमा संक्रमित पार्न सक्ने गुणको भेटिएको थियो। जबकि परिवर्तित अन्य भाइरस महिनौं अगाडिदेखि देखापर्दै आए पनि तिनमा यस्तो तीव्र रफ्तार देखिएको थिएन।
तर कुनै पनि भाइरस बढी मात्रामा समुदायमा फैलिएको देखिनुलाई मात्र आधार बनाएर त्यो अधिक तीव्र गतिको संक्रामक छ भन्ने निश्कर्षमा पुग्न सकिँदैन। कहिलेकाहीँ संयोगले पनि कुनैकुनै भाइरस बढी फैलिरहेको हुन्छ।
उदाहरणका निम्ति कुनै प्रजातिको भाइरस असाध्यै भीडभाड हुने सहरको मध्य भागमै विकास भयो भने त्यसको विस्तार सहजै हुन सकिरहेको हुन्छ। र, झट्ट हेर्दा त्यो प्रजातिको भाइरस नै बढी संक्रमणकारी हो कि भन्ने भ्रम पनि पारिदिन सक्छ।
तर, बेलायतको जुन नयाँ भाइरसबारे हामी कुरा गरिरहेका छौं, त्यो भने तीव्र गतिमै संक्रमण विस्तार गर्नसक्ने किसिमको भेटिएको महामारी विज्ञानका तथ्यले देखाएका छन्। जुनजुन स्थानमा यो भाइरस भेटिएको छ, ती स्थानमा कोरोना भाइरसका बिरामीको कुल संख्या बढ्दै गइरहेको छ।
लन्डनस्थित इम्पेरियल कलेजका महामारीविज्ञ नेल फर्गुशनका अनुसार यो नयाँ प्रजातिमा बेलायतमै पाइने कोरोना भाइरसका अन्य प्रजातिभन्दा ५० देखि ७० प्रतिशत बढी संक्रमित पार्न सक्ने गुण देखिएको छ।
यो भाइरस केटाकेटीमा कसरी सर्छ भन्नेबाट पनि संक्रमण दर वृद्धिबारे अनुमान लगाउन सकिने केही वैज्ञानिकहरूको तर्क छ। सामान्यतया वयस्क वा किशोर उमेरकाभन्दा केटाकेटीमा भाइरस सर्ने सम्भावना अलि कमै हुन्छ।
'तर, यो नयाँ प्रजाति केटाकेटीका मामिलामा पनि वयस्ककै मात्राको संक्रामक हुनसक्छ,' बेलायत सरकारका सल्लाहकार तथा इम्पेरियल कलेज लन्डनकी भाइरसविज्ञ वेण्डी बर्क्ले भन्छिन्।
यो प्रजातप वास्तवमै बढी संक्रामक छ कि छैन भनेर हेर्न यतिबेला अध्येताहरूले यसको ल्याब परीक्षण तीव्र बनाएका छन्। त्यस्तो परीक्षणमा यसले कोषहरूलाई कसरी प्रभावित पार्दो रहेछ भन्ने सुक्ष्म तवरले नियालिँदैछ।
यसअघि पनि कोरोनाको एउटा परिवर्तित भाइरस प्रजाति फेला परेको थियो। त्यसलाई '६१४ जी' नामाकरण गरिएको थियो। त्यो प्रजातिमा ठीक यस्तै परीक्षण अध्येताहरूले गरेका थिए। कोषहरू र विभिन्न जनावरमा गरिएको परीक्षणका आधारमा त्यो प्रजाति पनि आफ्ना अघिल्ला रुपभन्दा बढी संक्रामक भेटिएको थियो।
तर, सावधानीपूर्वक अपनाइएको उपायले उक्त '६१४ जी' प्रजातिलाई पनि अन्यजस्तै नियन्त्रण गर्न सफलता मिलेको थियो। अहिले त्यस्तै स्थिति यो नयाँ 'बी.१.१.७' प्रजातिमा पनि देखिएको छ।
'हामीले पहिले नै अपनाएका भौतिक दुरी, मास्क, हात धुने र स्यानिटाइजर लगाउने जस्ता सुरक्षा उपाय नै यसका मामिलामा पनि प्रभावकारी हुनेछ,' युनिभर्सिटी अफ सेन्ट एन्ड्रयुज स्कुल अफ मेडिसिनकी संक्रामक रोग विशेषज्ञ डा. म्युज सेभिक भन्छिन्, 'यति कुरा चाहिँ अहिल्यै थाहा भइसकेको छ।'
यो नयाँ भाइरससँग मिल्दोजुल्दो एउटा गुण दक्षिण अफ्रिकामा भेटिएको अर्को परिवर्तित भाइरसमा पनि पाइएको थियो। त्यो प्रजाति दक्षिण अफ्रिकाको तटवर्ती इलाकामा असाध्यै तीव्र गतिमा विस्तार भएको थियो। र, प्रारम्भिक अध्ययनमा त्यहाँका चिकित्सकले यो खालको भाइरसबाट संक्रमित मानिसले अत्यन्तै बढी 'भाइरल लोड' बोकेको थिए।
त्यसैगरी स्वासप्रश्वासका माथिल्ला अंगमा यो भाइरस असाध्यै धेरै मात्रामा थुप्रिएर रहेको पनि पाइएको थियो। धेरैजसो भाइरल रोगका हिसाबले हेर्दा यो असाध्यै गम्भीर लक्षणको कारक हुनसक्ने अवस्था हो।
अमेरिकामा हालसम्म यो भाइरस छैन। भारत लगायत अन्य देशले पनि अहिलेसम्म आफूकहाँ नयाँ भाइरस नदेखिएको बताएका छन्। तर यसको अर्थ ती देशमा यो नयाँ कोरोना भाइरस पुगेकै छैन भन्ने होइन।
पछिल्लो समय बेलायती वैज्ञानिकहरूले कोरोना भाइरसको नयाँ परिवर्तन नियाल्न अत्यन्तै बलियो प्रणाली स्थापित गरिसकेका छन्। बेलायतबाट आउने मानिसले परिवर्तित भाइरस बोकेको हुन सक्नेछ भन्ने जानकारी पछिल्लो समय सबैजसो देशले पाइसकेका छन्। विस्तारै अन्य मुलुकमा यो नयाँ भाइरस देखिन सक्छ।
(द न्यूयोर्क टाइम्सका लागि कार्ल जिम्मर र बेनेडिक्ट क्यारेले लेखेको स्टोरीको भावानुवाद।)