नेपाली राजनीतिक संकटमा दुई छिमेकी को चासो बढ्दै
प्रतिनिधिसभा विघटनपछि अन्तर्राष्ट्रिय ‘रंगमञ्च’मा केही दिन सन्नाटा छायो । अर्थात दुबै छिमेकी मुलुक चीन र भारतको कुटनीतिक गतिविधि तत्काललाई देखिनेगरी भएन । तर, त्यसको दुईदिनपछि नेपालका लागि चिनियाँ राजदूतले भेटघाट बढाइन । उता, भारतले पनि मुख खोलेको छ ।
नेपालको आन्तरिक मामिलामा दुई छिमेकीको चासो सामान्य हुन्थ्यो । दुईतिहाइ नजिकको बहुमत पाएको नेकपा फुट र प्रतिनिधिसभा विघटनले दुबै छिमेकीलाई छोएन र ? दुईदिनसम्म त दुबै मुलुक चुपचाप बने । विस्तारै दुबै मुलुकले चासो देखाउन थालेका छन् ।
तर यसपटक भारतको भन्दा चीनको चासो सुनिने र देखिने गरी रहेको पाइएको छ । आइतबार प्रतिनिधिसभा विघटनसँगै दुई तिहाइ नजिक रहेको सत्तारुढ नेकपा फुट्दा नेपाली राजनीतिक तरंगित बन्यो । त्यसको दुईदिन पछि अर्थात मंगलबार मात्र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरिन । त्यसको दुईदिनपछि अर्थात बिहीबार उनले नेकपा (प्रचण्ड–नेपाल) समूहका अध्यक्ष पुष्कमल दाहाल र शुक्रबार यही समूहका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरिन ।
यसअघि पनि नेकपा विवादमा उनी फुटतिर नजान भेटघाट र वार्ता मार्फत सुझाव दिन तम्तयार रहन्थिन् । केही समयअघि मात्र भारतले देखाउने यस्तै व्यवहार अहिले चीनले देखाउँदै आएको छ ।
नेपाली राजनीतिक दलहरुसँग सामिप्यता बढाउँदै नेपालका संविधान, कानूनदेखि माइक्रो म्यानेजमेन्टमा बढी नै चासो दिने भारत मौन जस्तै बन्यो । उसले बिहीबार मात्र एउटा नियमित पत्रकार सम्मेलनमा नेपालको पछिल्लो घटनालाई नोटमा राखेको प्रतिक्रिया दिएको थियो ।
भारतीय जानकारहरुका अनुसार यसपटक भारतले नेपाल नीतिमा केही भिन्नता ल्याउन खोजेको छ । उसले नेपालको आन्तरिक प्रत्यक्ष चासो नदिने बरु, बाहिरबाट मात्र हेर्ने नीति लिएको छ । नेपालमा तल्लो तहसम्म चासो दिंदै ‘माइक्रो म्यानेजमेन्ट’ गर्न सधैं तल्लिन हुने भारतको पछिल्लो व्यवहारले नेपाली जनतामा आफ्नो ‘इमेज’ सुधार गर्ने प्रयासमा देखिन्छ ।
तर, उत्तरी छिमेकी चीनले मौन बस्ने नीतिलाई बदल्दै नेपालमा खुल्ला रुपमा प्रभाव पार्न खोजेको देख्रिन्छ । नेपालका लागि चिनियाँ राजदूत यान्छीको लगातारको राजनीतिक भेटघाटले यही संकेत गरेको छ ।