मुरुल्ले लेक आन्तरिक पर्यटक तान्दै
(रोल्पा) रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नम्बर ६ मा अवस्थित मुरुल्ले लेकमा स्थानीयहरुको श्रमदानमा काठैकाठको मन्दिर तयार गरिएको छ। गाउँपालिकाकै अग्लो (२१५०) मिटर उचाइमा रहेको मुरुल्ले लेकमा पर्यटन प्रबर्द्धनका लागि भनेर निगालपानी र सरेचौर गाउँका स्थानीयहरुको सक्रियतामा मन्दिर तयार गरिएको छ।
पूर्वमा पुथा हिमाल,पश्चिममा सल्यान जिल्लाका विभिन्न स्थानहरूसहित दक्षिणमा दाङ लगाएत टेलेस्कोपको सहायताले भारतका समेत विभिन्न जिल्लाहरु देखिने रमणीय स्थल मुरुल्ले लेकमा पछिल्लो समय काठैकाठको मन्दिर निर्माण गरिदा सुन्दर एवम आकर्षक देखिएको छ।
स्वर्गद्वारी महाप्रभुको तपोभूमि प्युठानको स्वर्गद्वारी जाने अधिकांश पर्यटकहरु मुरुल्ले लेकको समेत भ्रमण गरेर फर्कने गर्दा समेत स्थानीय सरकार रुन्टीगढी गाउँपालिकाले मुरुल्ले लेकको बिकास भाषण र कागजमा मात्र सिमित राखेपछि पर्यटन बिकासका लागि स्थानीय आफै मन्दिर निर्माण तथा अन्य व्यवस्थापनका लागि जुटेको मुरुल्ले म्यगेजिनगढी संरक्षक संस्थाका अध्यक्ष चेतलाल पुनले बताए।
स्थानीय सरकार रुन्टीगढी गाउँपालिकाले पर्यटन बिकासलाई प्राथमिकता राखेको बताउँदै पुनले विभिन्न समयमा विभिन्न खाले खर्चिला कार्यक्रमहरु राख्दै आएको बताए। उनले उक्त कार्यक्रमहरु भित्र ब्यानर र कागज मात्र मुरुल्लेलाई अग्र स्थानमा राखिएको तर प्रबर्द्धनका लागि भने एक रुपैयाँ पनि लगानी नगरेको बताएका छन् । त्यसकारण स्थानीयहरु गत साउन महिनादेखि निरन्तर लागी परेर मन्दिर निर्माणका लागि जुटेका उनी बताउँछन् ।
मन्दिर निर्माण कार्य अन्तिम चरणमा पुगिसकेको र स्थानीयकै श्रमदानमा मुरुल्लेमा लेकमा धर्मशाला,करिब ४०० मिटर लामो सिडी,गौशाला,शौचालय लगाएतका भौतिक संरचनाहरु निर्माण गरिने संस्थाका अध्यक्ष पुनले जानकारी दिए। यस अघि स्थानियकै श्रमदानमा हवनकुण्ड समेत निर्माण गरिएको मुरुल्ले लेकमा अहिले दैनिक रुपमा घुम्न आउँने आन्तरिक पर्यटकरुको संख्या बढिरहेको मन्दिर निर्माण कार्यमा जुटेका स्थानीय सुबास चन्दले जानकारी दिए।
मुरुल्ले आउँने पर्यटकहरु धेरै जसो स्थानीय रहेको र छिमेकी जिल्ला सल्यान,प्युठान र दाङबाट समेत पर्यटकहरु भित्रीने क्रम जारी रहेको स्थानीय चन्दको भनाइ रहेको छ। रुन्टीगढी गाउँपालिकाले यस अघि रुन्टीगढी बिकास सम्मेलन,होलेरी राष्ट्रिय अक्षर महोत्सव र होलेरी राष्ट्रिय मिडिया सम्मेलन लगाएतका राष्ट्रिय स्तरका कार्यक्रमहरु सम्पन्न गरिसकेको छ।