ट्रम्पका छोराछोरीले पनि कोरोनाको मापदण्ड पालना गरेनन्
(वासिङटन) अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका चार सन्तानले नै कोभिड १९ महामारी विरुद्ध विश्व स्वास्थ्य संगठनले दिएको मापदण्ड पालना गरेका छैनन् । उनीहरुले सार्वजनिक स्थल वा सभा समारोहमा पनि मास्क नलगाएपछि आलोचिन बनेका छन् । हालै ‘प्रेसिडेन्सियल डिबेट’ को क्रममा पनि उनीहरु मास्क विना नै उपस्थित थिए ।
डोनल्ड ट्रम्प जुनियर, इभान्का ट्रम्प, एरिक ट्रम्प र तिफनी ट्रम्पले मास्क पहिरिएका थिएनन् । चिकित्सकहरुको सल्लाहका बावजुद उनीहरुले ओहिओ राज्यस्थित सभा हुँदा गाइडलाइन विपरीत उनीहरुको साथमा मास्क थिएन । स्थानीय मिडियाका अनुसार मेलानियाले समेत केही बेर मात्रै मास्क लगाएर आफ्नो सिटमा बसेपछि मास्क खोलेकी थिइन् । तर उक्त सभामा बस्ने सिटमा भने गाइडलाइन अनुसार नै सामाजिक दूरी कायम गरिएको थियो ।
तर कार्यक्रमको पूरा अवधिभर नै पाहुनाहरुलाई मास्क लगाउन निर्देशन दिइएको थियो । आगामी चुनावका लागि ट्रम्पका प्रतिष्पर्धी तथा राष्ट्रपति पदका उम्मेदवार जो बाइडेन र उनको समूहका अधिकांश नेता तथा सदस्यले मास्क लगाउनुका साथै डब्लूएचओको गाइडलाइन पालना गरेका थिए ।
आगामी नोभेम्बर ३ मा अमेरिकामा नयाँ राष्ट्रपतिका लागि निर्वाचन हुँदैछ । यसका लागि वर्तमान राष्ट्रपति ट्रम्प र पूर्वउपराष्ट्रपति जो बाइडेनबीच कडा प्रतिष्पर्धा हुने देखिएको छ । यस्तैमा वर्तमान राष्ट्रपति ट्रम्पले उनी र पत्नी मेलानियालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका थिए ।